इटहरी ।व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिंक’ रोडको रुपमा विस्तार गर्न फुटपाथका लागि केही मिटर अधुरै रहेको इटहरी चौरास्ता चोकको उत्तरतर्फ सडकको क्षेत्राधिकार भित्र पर्ने जग्गा खाली गराउन माग गरिएको छ ।
रानी विराटनगर इटहरी धरान सडक विस्तार आयोजनाले इटहरी उपमहानगरपालिकालाई पत्राचार गरि सडकको क्षेत्राधिकारको जग्गा खाली गराउन माग गरेको हो । इटहरी उपमहानगरपालिकाले यसअघि सडक क्षेत्राधिकारभित्र पर्ने वडा नं. ६ र वडा नं. ९ का घर डोजर प्रयोग गरि भत्काएपछि सडक विस्तार भइरहेको छ । ६ लेन सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाईमा भत्काएपछि अहिले इटहरीको चौरास्ता बजार क्षेत्रको दक्षिणतर्फ सडक विस्तार भइरहेको छ ।
चौरास्ता चोकको उत्तरतर्फ सडकको क्षेत्राधिकार भित्र पर्ने पाँच(पाँच मिटर जग्गा अहिलेसम्म खाली नगराउँदा फुटपाथ बन्न सकेको छैन् । जसले गर्दा सडक विस्तार योजनाका प्रमुुख दानकुमार शाक्यले जग्गा खाली गराउन उपमहानगरपालिकालाई पत्रचार गरि माग गरेका छन् । छ लेन सडक विस्तार आयोजनाका अनुसार इटहरी बजारदेखि उत्तरतर्फ सेनाको मुख्यालयसम्म २०–२० मिटर मात्र सडक विस्तार गरिएको छ । आयोजनाले सम्पूर्ण जग्गा लिएर मात्र काम गर्छु भन्दा कुनै पनि काम अघि नबढ्ने निष्कर्ष निकालेर शुरुवातमा फुटपाथ बाहेकको सडक विस्तार गरेको थियो । इटहरी चौरास्ता चोकको उत्तरतर्फ अब पाँच–पाँच मिटर सडक विस्तार गर्दा गोरखा डिपार्टमेन्टसहित आसपासका केही घरहरु भत्किने छन् ।
पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । थपिएको समयमा सडक निर्माण पूरा हुने छ लेन सडक विस्तार आयोजनाको दावी छ । २०६९÷०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो समय थप गरिएको छ । पुरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।

