विराटनगर ।प्रदेशको नाम ‘कोशी’ राखेको विरोधमा आन्दोलनमा उत्रिएका पहिचान पक्षधर आन्दोलनकारी उग्र र हिंसात्मक बन्दै जाँदा नेताहरुमाथि व्यक्तिगत रुपमै आक्रमण हुन थालेको छ ।
सोमबार मात्रै ओखलढुंगाका मुख्यमन्त्री हिक्मत कार्कीमाथि आक्रमणको प्रयास गरेका आन्दोलनकारीले मंगलबार माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा त्यस्तै प्रयास गरेका छन् । फागुन १७ मा प्रदेशसभाको दुई तिहाईभन्दा बढी मतबाट प्रदेशको नामकरण गरेपछिको आक्रोशको निशाना नेताहरुलाई अझ व्यक्तिलाई बनाउने अभियानले पहिचानवादी आन्दोलनलाई नै बद्नाम गर्ने चिन्ता सर्वत्र प्रकट हुन थालेको छ ।
‘राजनीतिक मुद्दाको विषयलाई लिएर यसरी नेताहरुमाथि भौतिक रुपमै आक्रमणमा उत्रने गतिविधिले कुनै परिणाम दिनेछैन, उल्टो पहिचानवादी आन्दोलनकै बद्नामी गराउनेछ’, पहिचानसहितको संघीयताको पक्षमा लामो समयदेखि मुखर रुपमा लेख्दै र बोल्दै आएका लेखक तथा अभियन्ता सागर राईले हाम्रोमतसँग भने ‘पहिचानवादी हुनु भनेको अराजक हुनु होइन । हामीले राजनीतिक र वैचारिक रुपमा आफ्नो मुद्दा स्थापित गराउने हो । सभ्य र शान्तिपूर्ण रुपमा आन्दोलन अघि बढाउने हो । तर, नेताहरुलाई जहाँ भेट्यो त्यहीँ आक्रमण गर्ने, गाडी तोडफोड गर्ने कामले उल्टै हाम्रो अभियानलाई कमजोर तुल्याउनेछ ।’
नेपालको संघीयताबारे अध्ययनसमेत गरिरहेका राईका अनुसार प्रत्येकजसो चुनावमा पहिचान पक्षधरहरु कमजोर भएको देखिएको छ । ‘यसको मुख्य कारण आन्दोलन विभाजित हुनु हो’, उनले थपे ‘साथै विगतमा हामीले प्रदर्शन गरेको उग्रता पनि हाम्रो लागि घातक भयो । पहिचानको पक्षमा उभिनु अरुलाई निषेध गर्नु थिएन । तर, त्यो रुपमा आन्दोलन अघि बढेन । यसको असर आन्दोलनलाई भयो ।’प्रदेशको नाम कोशी राखिएलगत्तै प्रदेशमा संयुक्त आन्दोलन सुरु भएको थियो । संयुक्त संघर्ष समितिका नेताहरुले प्रदेश राजधानी विराटनगर केन्द्रीत अभियान चलाउने, वडा तहसम्म विरोध कार्यक्रम लैजाने र नेताहरुप्रति भद्र प्रतिवादको नीति लिने बताएका थिए । सार्वजनिक रुपमा नेताहरुले गरेको यो वाचा कार्यकर्ताहरुले भने कार्यान्वयन गरेका छैनन् ।
यस्तो गतिविधिले पहिचानप्रति सकारात्मक नागरिक पंक्ति पनि भड्किने खतरा हुने चिन्ता पनि धेरैको छ । ‘पहिचान कुनै निश्चित समुदायको मात्रै मुद्दा होइन यो राष्ट्रिय चासोको कुरा हो’, पहिचानसहितको संघीयताकै पक्षमा उभिँदै आएका अर्का अभियन्ता दिनेश लिम्बूले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ‘तसर्थ सबैलाई समेट्ने दिशातिर अघि बढौं । एकअर्कालाई चिढ्याएर लक्ष्य प्राप्ति हुँदैन ।’त्यसो त आन्दोलनकारीहरु कति धेरै उग्र बन्दैछन् भन्ने प्रमाण मंगलबारको घटना हो । जहाँ एउटा भिडियो सार्वजनिक भएको छ । त्यसमा इन्द्र आङ्बोप्रति अपमानजनक शब्द मात्रै प्रयोग भएको छैन, उनलाई हत्या गर्ने चेतावनीसमेत दिइएको छ । नेता आङ्बोले भने आफूमाथि भएको आक्रमण प्रयासलाई स्वाभाविक रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन् ‘जोसँग सबैभन्दा बढी अपेक्षा विश्वास र भरोसा हुन्छ अपेक्षित परिणाम हासिल नहुँदा उसैप्रति आक्रोश,घृणा,आवेग व्यक्त हुनुलाई मैले स्वभाविक रुपमा लिएको छु । हामीले ल्याएको यो लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण रुपमा गरिने विरोध र असहमतिप्रति मेरो सधैं सम्मान रहनेछ ।’
त्यसो त सामाजिक सन्जालमा यतिबेला घृणायुक्त अभिव्यक्तिको बाढी नै आएको छ भने अर्को पक्षले प्रतिवाद गर्दै पहिचानको पक्षमा उभिएका शक्तिहरुलाई मतदान नगर्ने अनि परिणाम चाहिँ पहिचानसहितको संघीयता खोज्ने गरेको भन्दै आलोचना पनि भइरहेको छ । यसलाई समाजशास्त्रीहरु सामान्य घटना भनेर अथ्र्याउँछन् । ‘समाजमा विचारको घर्षण जरुरी छ, त्यो एकदमै स्वाभाविक पनि छ’, समाजशास्त्री मणिकुमार राई भन्छन् ‘तर, वैचारिक र राजनीतिक प्रतिवादमा मात्रै सिमित हुनुपर्छ । व्यक्तिमाथि आक्रमण गरेर आन्दोलन कहिल्यै लक्ष्यमा पुग्दैन ।’
विराटनगरमा बसेर प्राध्यापन गरिरहेका राईले पहिचानका पक्षमा उठेको आन्दोलन पूरापूर जायज छ । ‘किराँत सभ्यताको सम्मान गर्दै पहिचानयुक्त नाम राखेको भए सबैभन्दा बेस हुन्थ्यो त्यो नहुँदा आक्रोश र आन्दोलन जायज छ’ उनले थपे ‘तर, नेताहरुमाथि जहाँ भेट्यो त्यहाँ आक्रमण गर्ने काम अराजकता हो । यसले समर्थकहरु पनि चिढिने र आन्दोलनको बद्नामी हुने खतरा बढ्छ ।’
उनले यो मामिलामा सबैभन्दा धेरै जिम्मेवार सरकार बन्नुपर्ने बताए । ‘नामकरणबारे कुनै छलफल हुँदैन भन्ने मुख्यमन्त्री हिक्मत कार्कीको अभिव्यक्तिले आगोमा घिउ थप्ने काम गरेको छ’, उनले भने ‘संविधान त संशोधन हुन्छ भने नाममा छलफल नै नहुने के छ र ? तर, सरकार र आन्दोलनकारी दुवैले आफ्नो सीमा बुझ्नुपर्छ । त्यसले मात्रै परिणाम दिनसक्छ ।’

