विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि हत्या गर्ने योजना छ भन्दै एक समूहले आक्रमणको प्रयास गरेको पाइएको छ ।
पार्टीको जिल्लास्तरीय बैठकमा सहभागी हुन सदरमुकाम फुङ्लिन जाने क्रममा आङ्बोमाथि लिम्बूवान कार्यकर्ताले फुङ्लिङ बजार नजिकैको तक्मेडाँडा छेउमा आक्रमणको प्रयास भएको हो ।
लिम्बूवान कार्यकर्ताले आक्रमण गर्दा उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ । आङ्बोको हत्या गर्ने लक्ष्यसहित संघर्ष समिति लागिरहेको भन्दै लिम्बूवान कार्यकर्ताहरु मोटरसाईकलमा सवार भएको भिडियो सार्वजनिक भएको छ ।
आक्रमणकारीले तथानाम गालीगलौज गर्दै सबैतिर ढुकेर आङ्बोको हत्या गर्ने लक्ष्य रहेको बताएका छन् । आङ्बोसहितका नेताहरु अहिले सदरमुकाम पुगिसकेका छन् । बाटो ढुकेर बसेका प्रदर्शनकारीले एक्कासी ढुंगा हान्दै नाराबाजी गरेको आङ्बोका स्वकीय सचिव पुजन मगरातीले जानकारी दिए ।
प्रदेशको नाम कोशी राखिएसँगै पहिचानसहितको पुनः नामकरण हुनुपर्ने भन्दै पछिल्लो समय आन्दोलन भइरहेको छ । आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्की चढेको गाडीमा ओखलढुंगामा आक्रमण प्रयास भएको थियो ।

