स्नेहा खरेल
अतुलं तत्र तत्तेजः सर्वदेवशरीरजम् ।
एकस्थं तदभून्नारी व्याप्तलोकत्रयं त्विषा ।।
अर्थात जब तीनवटै लोक र सम्पूर्ण देवताहरूको तेजको समिश्रण भयो तब नारीको उत्पत्ति भयो । म सानो छँदा मैले कहिल्यै पनि मेरो घरमा आमा, फूपू ,ठूलीआमाले राजनितीको कुरा गरेको सुनिनँ । टिभीमा राजनीतिक अन्तरवार्ता पनि म पुरुषको मात्र देख्थें र मलाई राजनीति भनेको पुरुषले मात्र गर्ने चिज हो जस्तो लाग्थ्यो । तर इतिहास पल्टाएर हेर्ने हो भने आजको दिनसम्म आइपुग्दा नेपालको राजनैतिक परिवर्तनमा महिलाको भूमिका रोचक छ । वि स .१९९८ साल भन्दा अगाडि राजनीतिमा महिलाको सहभागीता शुन्य थियो ।
वि.स. १९९८ मा योगमाया देवीले जुद्समसेर लाई राखेको ‘सामाजिक र राजनीतिक परिवर्तनको’ माग पूरा नभएपछि सरकारलाई चेतावनी स्वरूप आफ्ना ६८ जना अनुयायीसँगै अरुण नदिमा जल समाधी लिइ आत्महत्या गरिन् । नेपाल एक पितृसत्तात्मक देश हो । यहाँ पुरुषको दबदबा छ तर नेपालमा पुरुषको राजनीति सफल पार्नुमा महिलाको हात र साथ रहेको देखिन्छ । दिव्या कोइराला नभएको भए कोइराला परिवार उच्च स्थानमा हुँदैन थियो । मंगलादेवी सिहंको योगदान नभएको भए गणेशमान सिंह सर्वमान्य नेता हुने थिएनन् । पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी , पन्चायती शासक विरुद्ध कालो झण्डा बोक्ने एकल महिला शैलजा आचार्य जस्ता महिलाको दृढशक्तिलाई सम्झिँदा आफु महिला भएकोमा गर्वले छाती फुलेर आउँछ । सङ्गीय, लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना पछि मुलुकको सम्पूर्ण जिम्मा दलहरुमा आएको हो । नेपालको संविधानले महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । समानुपातिक समावेशी सिद्धान्त लागु भएता पनि महिलाको सहभागीता न्यून रहेको छ । आजसम्म बनेका कुनै पनि मन्त्री परिषदमा एक तिहाई महिलाको सहभागिता हुन सकेको छैन । हालैमात्र सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निवार्चनमा महिलाको सहभागिता २२% मात्र रहेको थियो ।
यसरी महिलाको सहभागिता न्यून हुन्छ भनिरहँदा ती थोरै महिलाले राजनैतिक परिवर्तनमा देखाएको प्रभावलाई नकार्न सकिँदैन । नेपालको राजनीतिमा महिलाहरू विस्तारै स्थापित हुँदैछन । महिला बिना हरेक क्षेत्र अपुरो छ , राजनीतिलार्ई पनि यसबाट अछुतो राख्न सकिँदैन । राजनीतिमा त्यसै पनि भाँडभैलो देखिन्छ । मैले कतै पढेको थिएँ पहिले दशँैमा टिका लगाएर आशीष दिँदा, मन्त्री बनेस्, ठूलो बनेस् भन्थे , तर अहिले डाक्टर , इन्जिनियर जे बनेस , नेता चाँहि नबनेस भन्छन । यसरी देशको राजनीति लाजनितीमा परिणत हुदै गर्दा अब महिलाहरूले राजनीतिमा परिवर्तनको बिउ छर्दैछन् ।
राजनीतिमा महिला लाग्नुहुँदैन भने मान्यता महिलाले नै हटाउँछन् । हालै सम्पन्न निर्वाचनहरुमा सुनिता डंगोल, सोविता गौतम , तोशिमा कार्की जस्ता महिलाहरूको जितले नेपालको राजनीति साँच्चै नै महिलामैत्री बन्द ैगएको देखिएको छ । कुनै पनि क्षेत्र महिला बिना अपुरो छ र राजनीतिलाई पनि यसबाट अछुतो राख्न सकिँदैन । त्यसैले हामीले राजनीतिमा लाग्ने महिलालाई साथ र समर्थन गर्नुपर्छ । यदि कुनै राजनीतिक पार्टी बहुमत ल्याएर विजयी हुन्छ तर त्यस पार्टीमा महिलाको सहभागिता न्यून छ भने त्यो जित नभएर सहभागितामूलक लोकतन्त्रको भद्दा मजाक हो ।
तसर्थ ५३.९% महिला जनसंख्या भएको देशमा महिलाका चुनौती र बाध्यता एउटा महिलाले मात्र बुझ्न सक्छन् त्यसैले ती झिलिमिली सडकभन्दा छोरीचेली नडराई हिड्नसक्ने गल्लीको निर्माण गर्न भए पनि महिला राजनीतिमा लाग्नै पर्छ । नेपाल आमा भनेर सम्बोधन गरिने हाम्रो देशको विकासको लागि अब महिला राजनीतिमा लाग्नै पर्छ । भ्रष्टचार राजनीतिले शिथिल भएकी एउटी आमाको रक्षाको लागि हामी नारी राजनीतिमा आउनुपर्छ । हुर्किदै गरेका साना नानीलाई अबको नेपालमा महिलाले पनि राजनीति गर्छन् भन्ने सिकाउनुपर्छ । सरकारमा मात्र हैन नेतृत्वमा पनि महिला हुनुपर्छ ।