काठमाडौं । निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र–१ र बारा– २ मा वैशाख १० मा उपचुनाव गर्ने निर्णय गरेको छ। तनहुँ १ का सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् भने बारा–२ का सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि दुबै क्षेत्र रिक्त भएको थियो।
नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भए निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ।
चितवन २ मा आयोगले वैशाख १० मै उप निर्वाचन गर्ने निर्णय गरिसकेको छ। चितवन २ रविलामिछानेले जितेका थिए । नागरिकता बिबाद हुदाँ उनको पद गएको थियो ।
आयोगका अनुसार दुवै क्षेत्रमा चितवनकै उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम लागू गरिनेछ। आयोगका अनुसार तनहुँ(१ र बारा–२ को उपचुनावका लागि चैत ८ देखि १२ गतेसम्म दल दर्ताको समय दिइनेछ।
चैत १६ मा मतदाता नामावली प्रकाशन हुने, २० गते उम्मेदवारी दर्ता हुने निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ। दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।

