विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीलाई संसद् विघटन गर्वको विषय नभई अप्रिय भएको भन्दै संसद्बाटै जवाफ फर्काएका छन्।
प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संसद विघटन गर्नु गर्वको विषय नभएको बताएका छन्।
सोमबार प्रतिनिधि सभामा दोस्रो पटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो दिनको बैठकमा नै संसद विघटन ठिक थियो भन्ने कुराले आफूलाई नैतिक संकट परेको बताए।
‘सर्वोच्च अदालतले दुई दुई पटक असंवैधानिक भनेको त्यो अप्रिय कुरा गर्वको विषय होइन,’ प्रचण्डले भने ‘तर संसदको पहिलो बैठकमा नै संसद विघटन ठिक थियो भनेपछि तत्कालीन गठबन्धनमा अविश्वासको वातावरण सिर्जना भयो।’
गठबन्धन बनाउँदा एमाले र राप्रपाले स्थायित्वको नारा अघि सारे पनि उनीहरू त्यसबाट पछि हटेको प्रधानमन्त्री प्रचण्डले बताए।
‘उहाँहरूले स्थायित्व भन्नुभएको थियो तर पछि किन समर्थन फिर्ता लिनुभयो मलाई थाहा छैन,’ प्रचण्डले भने,‘त्यो कुरा उहाँहरूलाई नै थाहा होला। तर अहिलेसम्म उहाँहरूले सरकारको यो निर्णय गलत भएकाले समर्थन फिर्ता लिएका हौं भन्न सक्नुभएको छैन। त्यसमा मलाई खुसी छ।’
यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीका कारण आफूले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेको प्रधानमन्त्री प्रचण्डले जिकिर गरे।

