काठमाडौं । स्ववियु निर्वाचन हुन बाँकी सबै क्याम्पसहरूमा चैत १२ अघि नै निर्वाचन गरिसक्न त्रिभुवन विश्व विद्यालयले आग्रह गरेको छ । त्रिविका उपकुलपति प्राडा धर्मकान्त वास्कोटाले विज्ञप्तिमार्फत आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी निर्वाचन गरिसक्न आग्रह गरेका हुन् ।
‘स्थगन भएका क्याम्पस तथा कलेजहरूमा आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी कायम गर्दै कसैले कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस प्रशासन, विद्यार्थी नेतृत्वकर्ता, विद्यार्थी वर्ग, सबै राजनैतिक दल, स्थानीय प्रशासन, आमसञ्चार जगत, अभिभावक वर्ग लगायत सम्बन्धित सम्पूर्ण पक्षलाई हार्दिक अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।
केही क्याम्पस तथा कलेजहरूमा विद्यार्थी संघ संगठनहरूबीचको सामान्य विवादका कारण मतदान स्थगन गर्नु परेता पनि अधिकांश स्थानमा शान्तिपूर्वक निर्वाचन भएको त्रिविको भनाइ छ ।

