काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नेकपा एमाले तथा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि २६ पुसमा संसद्को विश्वास लिएका थिए ।

विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डलाई ११ दलले समर्थन गर्ने निर्णय गरेका छन । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने निर्णय गरेपछि पछि दलको संख्या ११ पुगेको हो ।

१० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका हुन ।

यसैगरी, नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय लिएको छैन ।