ओखलढुंगा । कोशी प्रदेशको नाम संशोधन गरि पहिचानसहित पुनः नामकरण गर्नुपर्ने भन्दै पहिचानवादीहरु आन्दोलनमा रहेको बेला मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामका विषयमा अब कुनै छलफलसमेत नहुने बताएका छन् ।
प्रदेशको कोशी नामकरणले पहिचान नसमेटेको भन्दै भन्दै त्यसविरुद्ध विराटनगरमा पहिचानवादीहरुले मुख्यमन्त्री कार्यालय घेराउ गर्दै बृहद् प्रदर्शन गरेकै दिन आइतबार ओखलढुंगा पुगेका मुख्यमन्त्री कार्कीले नामबारे अब कुनै छलफल नहुने अडान राखेका हुन् ।
ओखलढुंगाको रुम्जाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी नाम सर्वस्वीकार्य भएकाले यो परिवर्तन नहुने बताए । ‘लामो समय नामविहीन प्रदेशमा म मुख्मन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले ‘कोशी’ नाम पारित गरेको हो’ उनले भने, ‘नाम संशोधनका विषयमा छलफलसमेत हुँदैन ।’
‘कोसी सबैको सभ्यता र पहिचान भएको दावी गर्दै उनले मानव जीवनसँग पनि जोडिएको नाम सबैले स्वीकार गरेको जिकिर गरे । ‘९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको नाम अब परिवर्तन होइन, नामकै विषयमा कुनै छलफलसमेत हुँदैन’ उनले भने, ‘हिजो नाम भएन भन्नेहरू नाम मन परेन भनेर आन्दोलन गर्नु जायज हैन ।’
प्रदेशको नाम संशोधन गर्न आन्दोलन गर्नेहरूले जिताएर पठाएकै सांसदहरूले कोशी नामकरण गरेको मुख्यमन्त्री कार्कीले बताए । सांसदको प्रस्तावमा राखिएको नामका विषयमा सरकारविरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको उनको भनाइ थियो । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि मुख्यमन्त्री कार्की ओखलढुंगा आएका हुन् ।
प्रदेशको नाम कोशी राखेको भन्दै पहिचानपक्षधरहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले प्रदेशको नाम पहिचानसँग जोडिएको हुनुपर्ने माग राखेका छन् ।
आइतबार पनि विराटनगरमा विशाल प्रदर्शन भएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले उक्त प्रदर्शन रोक्न निषेधाज्ञा समेत जारी गरेको थियो। तर उक्त निषेधाज्ञा तोडेर उनीहरूले प्रदर्शन गरे । जसकारण ढुंगामुढा भएको थियो भने प्रहरीले पनि अश्रु ग्यास प्रहार गरेको थियो ।

