विराटनगर । सुनसरीको धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले आफूहरुको मानमर्दन र अपमान गरेको भन्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले सच्याउन चेतावनी दिएका छन् ।

उपमहानगरका २२ जना वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आइतबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै २४ घण्टाभित्र मेयर साम्पाङले आफ्ना माग पुरा नगरे आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

मेयर साम्पाङले निरन्तर आफूहरुको मानमर्दन गर्ने र अशोभनीय व्यहार गर्ने गरेको भन्दै उनीहरुले योग्यतासमेत नरहेका सचिवालयका कर्मचारी सुर्दशन लिम्बूले लेटरप्याड दुरुपयोग गर्दै वडाअध्यक्षहरुलाई निर्देशन दिएको भन्दै उनीहरु आक्रोशित छन् । भर्खरै सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई जबरजस्ती ७ बुँदे सर्तमा हस्तक्षर गर्न दबाब दिएको पनि उनीहरुले बताएका छन् ।

वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयर साम्पाङ मनोमानी, स्वेच्छाचारी र एकल निर्णयका आधारमा चल्न खोजेको पनि आरोप लगाएका छन् । वडा नं. १० का अध्यक्ष विवेक राईलाई झुटो आरोप लगाएर स्पष्टीकरण सोधेको भन्दै उनीहरुले मेयर साम्पाङले आत्मालोचना गरि सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेका छन् ।

अयोग्य सचिवमार्फत वडाअध्यक्षहरुलाई निर्देशनात्मक पत्राचार गर्नु पदको दुरुपयोग भएको भन्दै उनीहरुले आत्मालोचनासहित भुल सुधार गर्नुपर्ने र लेटरप्याड दुरुपयोग गर्ने लिम्बूलाई कारबाही गर्नुपर्ने पनि माग राखेका छन् । आफ्ना माग २४ घण्टाभित्र पुरा नगरे चरणवद्धरुपमा सशक्त आन्दोलन गर्ने पनि चेतावनी उनीहरुले दिएका छन् ।

मेयर साम्पाङका स्वकीय सचिव लिम्बुको योग्यता नपुगेको र अधिकारको दुरुपयोग गरेको कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिने तयारी गरिएको कार्यपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष मनोज भट्टराईले जानकारी दिएका छन् ।