विराटनगर । नेपाली काँग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियु (एमाले)बीच उत्पन्न प्रतिशोधको राजनीतिका कारण मोेरङको स्ववियु निर्वाचन अन्यौलमा परेको छ ।
चुनाव हार्ने डरले धमाधम क्याम्पसमा तालाबन्दी गर्ने होड चलेपछि मोरङका ठूला क्याम्पसमा स्ववियु निर्वाचन टर्ने संकेत देखा परेको हो । मोरङको विराटनगरस्थित नर्सिङ क्याम्पसमा शुक्रबार र महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसमा शनिबार तालाबन्दी गरिएको छ । यस्तै मोरङकै सुकुना बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनकै विषयलाई लिएर विवाद छ ।
जसका कारण १४ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव पुनः नहुने अवस्था सिर्जना भएको छ । विद्यार्थीहरुका हकहित, संरक्षण र सम्र्वद्धन गर्ने हेतुले कलेजमा अध्यनरत विद्यार्थीहरुको बौद्धिक, चारित्रिक, शैक्षिक र नेतृत्व क्षमता विकास गर्दै उनीहरुलाई जिम्मेवार बनाउने उद्देश्यपूर्ण अभिभारालाई पुरा गर्न स्थापना भएको व्यवहारिक, वैज्ञानिक र वैधानिक संस्था स्ववियु हो । तर, स्ववियु निर्वाचनलाई व्यक्तिगत स्वार्थपूर्तिको दृष्टिकोणले हेर्दा मोरङका क्याम्पसहरुमा निर्वाचन हुने सम्भावना घटेको छ ।
निर्वाचनका निम्ति विद्यार्थीलाई संगठन छनौट गर्न पाउने अधिकारबाट वञ्चित गरिएको भन्दै शुक्रबार नेविसंघले नर्सिङ क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । व्यक्तिगत स्वार्थपूर्तिका निम्ति विद्यार्थीहरुलाई डर, धम्की देखाएर क्याम्पस प्रमुख, प्राध्यापक तथा निर्वाचन समितिले निर्वाचन प्रभावित गर्न खोजेको आरोप नेविसंघको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले विद्यार्थी संगठनमा समावेश नहुनु भन्दै विद्यार्थीलाई धम्क्याउनु गैह्र कानुनी र असंवैधानिक कार्य रहेको भन्दै आपत्ति समेत जनाएको छ ।
विद्यार्थीलाई व्यक्तिगत रुपमा सम्पर्क गरेर क्याम्पस प्रमुखले नै विद्यार्थी संगठनमा समावेश नहुनु भन्दै धम्की दिएपछि विवादको वातावरण सिर्जना भएको नेविसंघका मोरङ जिल्ला अध्यक्ष सरोज पोखरेलले बताए । ‘विशेषगरी नेविसंघ पक्षधर विद्यार्थीहरुलाई क्याम्पस प्रमुखसहितका कर्मचारीले संगठनमा नखुल्नु भनेर धम्की दिएको थाहा पाएका छौं । विद्यार्थीहरुलाई मानसिक तनाव समेत दिईएको छ,’ उनले भने, ‘विज्ञप्ति निकालेर हामीले क्याम्पस प्रशासनलाई सचेत गराईसकेका थियौं । उहाँहरु सचेत नभएपछि शुक्रबार तालाबन्दी गरिएको हो ।’
नर्सिङ क्याम्पस अनेरास्ववियु (एमाले) को बलियो पकड भएकोे क्याम्पस हो । अनेरास्ववियुले सजिलै चुनाव जित्ने देखिएपछि नेविसंघले विभिन्न बहानामा शुक्रबार क्याम्पसमा तालाबन्दी गरेको अनेरास्ववियुका नेताहरुकोे आरोप छ । अनेरास्ववियुको पकड भएको क्याम्पसमा नेविसंघले तालाबन्दी गरेपछि नेविसंघको पकड भएको क्याम्पसमा शनिबार अनेरास्ववियुले तालाबन्दी गरेको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका कोशी प्रदेश उपाध्यक्ष भुषण लिम्बूले बताए । उनले भने, ‘हार्ने थाहा पाएपछि चुनावै हुन नदिने होड चलेको छ ।’
विभिन्न ५ बुँदे माग राख्दै एमाले निकट अनेरास्ववियुले शनिबार महेन्द्र मोरङ निर्वाचन समितिको गेटमा तालाबन्दी गरेको छ । नर्सिङ क्याम्पसलगायतका क्याम्पसहरुमा नेविसंघको तालाबन्दी र महेन्द्र मोरङमा निर्वाचन समितिको लापरबाहीपूर्ण क्रियाकलापले गर्दा अनिश्चितकालिन तालाबन्दी गरिएको अनेरास्ववियुका मोरङ जिल्ला अध्यक्ष तुलसी घिमिरेले बताए । उनले माग सम्बोधन नहुन्जेल तालाबन्दी फुकुवा नगरिने बताए । उनले भने, ‘क्याम्पसमा एकपक्षीय रुपमा निर्वाचनका कार्यक्रमहरु गर्न थालिएपछि हामीले आपत्ति जनाएका हौं । माग सम्बोधन भएपछि मात्र ताला खोल्छौं ।’
महेन्द्र मोरङ क्याम्पस प्रमुख बाबुराम तिमल्सिनालाई ज्ञापन–पत्र बुझाउँदै अनेरास्ववियुले आफ्नो ५ बुँदे माग अघि सारेको छ । अनेरास्ववियु (एमाले) ले मतदाता नामावलीको नाम छानबिन गर्नुपर्ने, क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई अनेरास्ववियुमा नलाग्न धाकधम्की दिएकाले त्यसको छानबिन हुनुपर्ने, न्यूनतम शुल्कमा फर्जी विद्यार्थीहरुलाई भर्ना गराई क्याम्पस प्रशासन स्वयं नेविसंघको पक्षमा उभिएकाले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, आम सहमतिको आधारमा निर्वाचनको वातावरण बनाउनुपर्ने तथा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने माग गरेको छ ।
नेविसंघबाट महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति पदका उम्मेदवार समेत रहेका जसवन्त पौडेल चुनाव हुनुपर्ने बताउँछन् । चुनाव हार्ने डरले तालाबन्दी गर्नु गैह्र संवैधानिक क्रियाकलाप रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘चुनाव हार्ने डर चुनावै हुन नदिने हो भने देशमा सिके राउतको पार्टीले कहिल्यै चुनाव हुन दिँदैन । त्यसैले यस्तो गलत नजिर स्थापना गर्ने प्रयास गर्नुहुँदैैन ।’
काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा बिएसडब्ल्यु अध्ययनरत विद्यार्थी सेवन्त निरौलाको नाम महेन्द्र मोरङको मतदाता नामावलीमा पनि देखिएकाले विवाद सुरु भएको एमाले निकट विद्यार्थी नेताहरु बताउँछन् । उनीहरुका अनुसार काठमाडौैंको आरआर क्याम्पसको मतदाता रहेका निरौलाको नाम विराटनगरको महेन्द्र मोरङको मतदाता नामावलीमा देखिएको छ । उनी नेविसंघसँग आबद्ध विद्यार्थी हुन् । दुवै क्याम्पसको मतदाता देखिएपछि मतदाता नामावली नै त्रुटिपूर्ण रहेकाले सच्याउनुपर्ने माग गर्दै महेन्द्र मोरङमा तालाबन्दी गरिएको एमाले नेता भाष्कर खनालले बताए ।
स्रोतका अनुसार दुवै क्याम्पसको मतदाता नामावलीमा नाम देखिएको निरौला एमाले निकट अनेरास्ववियुसँग आबद्ध विद्यार्थी हुन् । उनी अनेरास्ववियुको चुनाव प्रचारप्रसारमा पनि सक्रिय थिए । दुवै क्याम्पसको मतदाता नामावलीमा नाम रहेको विषय बाहिरिएपछि आफ्नो गल्ति ढाकछोप गर्न अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेको आरोप अखिल क्रान्तिकारीको छ । क्रान्तिकारीका महेन्द्र मोरङ इन्चार्ज तथा केन्द्रिय कमिटी सदस्य अभिमन्यु यादव भन्छन्, ‘गल्ती भयो भने सुधार गर्ने हो । बसेर छलफल गरेर टुङग्याउने हो । ढाकछोप र तालाबन्दी गर्ने होइन ।’
अनेरास्ववियुले यसअघि चैत्र १ गते मोरङको केराबारी–८ स्थित खदम क्याम्पसमा पनि तालाबन्दी गरेको थियो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई प्रभावित पार्ने प्रयास गरिएको भन्दै विद्यार्थी संगठनले बुधबार अपरान्ह क्याम्पसको चेनगेटमा तालाबन्दी गरेको थियो । तालाबन्दी गर्दै अनेरास्ववियु क्याम्पस कमिटीले केही प्रश्नसहितका आफ्ना ७ बुँदे माग अघि सारेको थियो । कमिटीले उठाएका प्रश्न र राखेका मागहरुको उचित जवाफ प्राप्त नभएसम्म तालाबन्दी जारी रहने बताइएको थियो । तर, क्याम्पस प्रशासनले बिहीबार तालाबन्दी खोलेको छ । तालाबन्दी खोलिएपनि चुनाव हुने÷नहुने बिषय अन्यौलमै छ ।
क्याम्पस प्रशासनले जोड जबरजस्ती रुपमा तालाबन्दी खोलेकाले माग सम्बोधन नहुन्जेलसम्म खदम क्याम्पसमा चुनाव नहुने अनेरास्ववियुका मोरङ जिल्ला सह–सचिव संगम कन्दङ्वाले बताए । ‘निर्वाचन प्रक्रिया त्रुटिपूर्ण छ । हाम्रो माग सम्बोधन नगरी बलजफ्ती तालाबन्दी खोलिएको छ,’ उनले भने, ‘हामीलाई बायपास गरिएको छ । यसमा हाम्रो आपत्ति छ ।’
एक विज्ञप्ति जारी गर्दै बुधबार नै अनेरास्ववियु क्याम्पस कमिटीले विद्यार्थी भर्नाको शुल्क र आम्दानी विवरण सार्वजनिक गर्नुपर्ने, १९ गते भर्ना भएका केही विद्यार्थी अस्वभाविक भएकाले उक्त भर्ना खारेज गर्नुपर्ने र १९ गतेसम्म दर्ता भएका संगठनलाई मात्र आधिकारिक मान्नुपर्ने माग गरेको छ । कमिटीले निर्वाचन प्रक्रियामा आएका विवादहरु सर्वदलीय सहमतिमा मात्रै टुङ्ग्याउनुपर्ने माग समेत अघि सारेको छ ।
मोरङको सुकुना बहुमुखी क्याम्पसमा निर्वाचन आयोगले नै अनेरास्ववियुको नामको पछाडि एमाले उल्लेख गर्न नमानेपछि उत्पन्न भएको विवाद सुल्झिए पनि चुनाव हुने वा नहुने विषय अझै टुङ्गो लाग्न सकेको छैन । महेन्द्र मोरङमा शनिबार भएको तालाबन्दीको प्रभाव सुकुनामा पनि परेको छ । काँग्रेस निकट नेविसंघ, माओवादी निकट अखिल (क्रान्तिकारी) र नेकपा (एस) निकट अनेरास्ववियूबीचको गठबन्धनलाई बाम लोकतान्त्रिक गठबन्धन भनेर प्रचार गरिएको विषयप्रति पनि अनेरास्ववियुको आपत्ति थियो । तर, उच्च अदालत विराटनगरले गठबन्धनको रुपमा प्रचार गर्न पाउने गरी फैसला गरेपछि हाल उक्त समस्याहरु समाधान भईसकेको छ ।
कोशी प्रदेशकै शैक्षिक धरोहरको रुपमा रहेको महेन्द्र मोरङमा १४ वर्षपछि निर्वाचन हुँदैछ । महेन्द्र मोरङको स्ववियु सभापति पदका लागि नेपाली काँग्रेस निकट नेविसंघबाट जशवन्त पौडेल, अनेरास्ववियु (एमाले) बाट नवीन पहाडी र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बाट रोहित यादव ‘विकास’ उम्मेद्वार छन् ।

