विराटनगर । गत मंसिर ३० गतेको निर्वाचनमा विजयी भएपछि आशिर्वाद लिन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन इलाम लारुम्बाका धर्मगुरु आत्मनन्द लिङ्देनलाई भेट्न पुगे । उनी पुगेको समयमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो पनि धर्मगुरु लिङ्देनसँगै थिए । ताप्लेजुङ, पाँचथर, इलाम र झापाका नेताहरु निर्वाचन अगाडि र निर्वाचन पछि पनि धर्मगुरु लिङ्देनसँग आशिर्वाद थाप्ने आवश्यक मार्गदर्शन लिने गर्छन् ।
सो भेटमा आदिवासी जनजातिहरु मिलेर अगाडि बढ्ने र एक अर्कालाई सहयोग गर्ने विषयमा लिङ्देन र आङ्बोबीच कुराकानी भयो । कुराकानीको साक्षीको रुपमा ‘मेन्दुरी प्यासाङा’ र उनै धर्मगुरु लिङ्देन थिए । लिम्बू समुदायले जन्मेदेखि गर्ने हरेक काममा ढुंगालाई साक्षी राख्ने गरेका छन् । लिम्बू मुन्धुममा यसरी साक्षी राखिने ढुंगालाई ‘मेन्दुरी प्यासाङा’ भनिन्छ ।
त्यसबेला कोशी प्रदेश सरकार कस्तो र कसरी बनाउने भन्ने विषयमा छलफल भएको थियो । गठबन्धन गरेर चुनावमा होमिएका काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी)को प्रदेशसभाको बहुमत भन्दा १ कम ४६ सिट मात्रै थियो ।जसोतसो जसपा जोड्दा ४७ पुग्न सक्थ्यो । तर, सभामुख पनि चयन गर्नुपर्दा अहिलेकै जस्तो जोखिम थियो । त्यही कारण एमालेसँग गठबन्धन गरेर चुनावमा होमिएको राप्रपासँग ६ सिट थियो । राप्रपाको ६ सिट मिलाउन पाए प्रदेश सरकार सहज बहुमतमा हुने र एमाले प्रतिपक्षीमा जाने आंकलन माओवादी नेता आङ्बोको थियो । त्यही जोड घटाउ मिलाउँदै आफू मुख्यमन्त्री बन्ने शर्तमा धर्मगुरुलाई अगाडि राखेर राप्रपा अध्यक्ष लिङ्देनलाई मनाउने आङ्बोको दाउ थियो ।
विगत पाँच वर्षमा कोशी प्रदेशको संसदीय खेलमा आफूलाई अब्बल सावित गरेका आङ्बोले धर्मगुरु लिङ्देनको सहारा लिएर राजेन्द्र लिङ्देनलाई सोही प्रस्ताव राखे । जवाफमा राजेन्द्र लिङ्देनले ‘तपाई मुख्यमन्त्री बन्ने परिस्थिति आए विचार गरौंला नि त’ भनेको निकटस्थहरुसँग माओवादी नेता आङ्बोले बताउने गरेका छन् । ‘उहाँले हामीसँग राप्रपाले सघाउने कुरा गर्नुभएको छ,’ माओवादीका एक नेता भन्छन् । यद्यपि आङ्बो यो विषयमा मौन छन् ।
उपराष्ट्रपति निर्वाचन लगत्तै एमाले नेतृत्वका प्रदेश सरकारहरु परिवर्तनको कसरत सुरु हुँदा कोशी प्रदेश सरकारको विषयमा पनि भित्रभित्र विभिन्न चलखेल भइरहेको छ । माओवादी नेता आङ्बोले राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले त्यसबेला गरेको वाचालाई आशाको नजरले हेर्दै अहिले काँग्रेससँग मुख्यमन्त्रीमा सहमति जनाउन जोड गरिरहेका छन् ।
यसअघि प्रदेश सरकार बनाउन माओवादी ३ पटक सहयोगी दल बनिसकेको छ । शेरधन राई नेतृत्वको प्रदेशको पहिलो सरकार, राजेन्द्र राई नेतृत्वको तेस्रो सरकार र हाल हिक्मतकुमार कार्की नेतृत्वको चौथो सरकार निर्माणमा माओवादीको महत्वपूर्ण हात छ । त्यही कुरा बताउँदै माओवादीले ‘अब सहयोगी मात्रै होइन, माओवादी कै नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्छ’ भन्दै अन्य दलहरुसँग कुरा गरिरहेको स्रोत बताउँछ ।
‘फेरि नयाँ सरकार बनाउन सहयोगी दल नै बन्नु नैतिक हिसावले गलत हुन्छ,’ एक माओवादी नेता भन्छन्, ‘२–३ थान मन्त्रीको लागि सत्तासमीकरण बदल्न जरुरी छैन त्यो भन्दा बढी त एमाले नेतृत्व सरकारमा सम्मानजनक सहभागिता भैहाल्छ नि ।’ नयाँ सरकार पनि बन्न नसक्ने र माओवादीलाई लाभ पनि कम हुने अवस्थामा अस्थिरताको दोष मात्रै लिएर अरूलाई सत्तारोहण गराउन माओवादी इच्छुक पनि देखिएको छैन ।
कोशी प्रदेश राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला भने अध्यक्ष लिङ्देनले आङ्बोलाई दिएको बचनको कुरा आफूलाई थाहा नभएको बताउँछन् । यद्यपि राप्रपा स्रोतले पनि यो कुराको पुष्टि गरेको छ । नयाँ सरकार बन्ने विषयमा अहिले नै प्रवेश गर्नु हतारो हुने सिटौलाको तर्क छ । ‘नयाँ सरकार बन्ने विषय अहिले काँही कतै प्रवेश नै भएको छैन । यही सरकार अहिले त छँदैछ,’ सिटौलाले भने, ‘पहिले त सरकारमा रहेका दलहरुले यो सरकारलाई दिएको समर्थन फिर्ता लिनु प¥यो, त्यसपछि विश्वासको मत लिने कुरा आउँछ । त्यहाँ विश्वासको मत प्राप्त भएन भने मात्रै अर्को सरकार गठन र नयाँ समीकरणको कुरा होला ।’
उनले त्यस्तो परिस्थिति निर्माण भएको खण्डमा मात्रै छलफलमा जान सकिने बताए । ‘पहिलो त्यो परिस्थिति नै बनेको छैन, अहिले काल्पनिक कुरा गरेर हुँदैन,’ नयाँ सरकार गठन हुने परिस्थितिमा चाहिं तपाईहरूको सहभागीता कस्तो हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘स्वभाविक रुपमा छलफलमा हाम्रो सहभागिता हुन्छ । तर, के गर्ने भन्ने विषयमा त्यसबेलाको परिस्थिति अनुसार नै गरिन्छ ।’
मुख्यमन्त्री बन्न कसलाई सहज ?
सत्ता परिवर्तनको खेल भइहालेको खण्डमा मुख्यमन्त्री बन्न कसलाई सहज होला भन्ने विश्लेषण पनि सुरु भएको छ । प्रदेश सरकार कसरी र कस्तो बनाउने भन्ने विषयमा केन्द्रमा सत्ता गठबन्धन दलहरुबीच सहमति हुन आवश्यक छ । तर, प्रदेश १ भने जोखिमा रहेको कारण कसले लिने भन्ने विषय यहाँबाट कसले कति पहल गर्छ भन्ने कुराले निर्धारण गर्नेछ ।
एमाले नेतृत्वको सरकार ढलेको खण्डमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापा, माओवादी केन्द्रका नेता आङ्बो र नेकपा (एकीकृत समाजवादी)का नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई मुख्यमन्त्रीको दाबेदार हुन् । परिस्थितिले कोल्टे फेरेको अवस्थामा राप्रपा संसदीय दलका नेता तथा हालका मन्त्री भक्तिप्रसाद सिटौला पनि मुख्यमन्त्री बन्न सक्छन् । तर, उनले आफू नैतिकताको राजनीति गर्ने भएकोले त्यस्तो अफर अस्वीकार गर्ने बताउने गरेका छन् ।
काँग्रेस दलका नेता थापा मुख्यमन्त्री बन्ने अवस्थामा काँग्रेसबाटै असयोग हुने देखिन्छ । नेता कृष्ण प्रसाद सिटौला पक्षका थापालाई शेखर कोइराला पक्षका नेताहरु केदार कार्की तथा देउवा खेमाका अमृत अर्यालले असहयोग गर्ने स्रोत बताउँछ । थापा नै मुख्यमन्त्री बन्ने अवस्थामा राप्रपालाई पनि सरकारमा सहभागी गराउन नसक्ने अन्य गठबन्धन दलका नेताहरु बताउँछन् । राप्रपाका अध्यक्ष लिङ्देन र काँग्रेस नेता कृष्ण सिटौलाबीच राम्रो सम्बन्ध छैन । जसका कारण सिटौलाका विश्वासपात्र रहेका थापालाई लिङ्देनले मुख्यमन्त्री बनाउन समर्थन नगर्ने स्रोत दाबी गर्छ ।
यस्तै नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राईलाई नै कोशी प्रदेशको मुख्यमन्त्रीमा अगाडि सार्ने अर्को विकल्प छ । तर, विगतमा उनलाई मुख्यमन्त्री बनाउन भूमिका खेलेका माओवादी दलका नेता आङ्बोले अबको मुख्यमन्त्रीमा आफूलाई सघाउनु पर्ने दबाब दिइरहेका छन् । सानो पार्टी र सहकर्मी आङ्बोसँग पहिले आफू मुख्यमन्त्री बन्दा गरेको सहमति कार्यान्वयन गर्नुपर्ने दबाबले उनलाई समस्यामा पार्न सक्छ । राईले आफू नै मुख्यमन्त्री बन्ने दाबी गरेको खण्डमा आङ्बोले असहयोग गर्न सक्छन् । जसको फलस्वरुप उनको मुख्यमन्त्री बन्ने चाहना पुरा नहुन सक्छ ।
माओवादी नेता आङ्बोका लागि भने राप्रपालाई सहमत गराउन सकेको खण्डमा परिस्थिति अनुकूल हुनसक्छ । तर, त्यसका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को ग्रिन सिग्नल चाहिन्छ । कोशी प्रदेश काँग्रेसभित्रको बेमेलले एउटा पक्षले आङ्बोलाई मुख्यमन्त्री बनाउनुपर्ने दबाब अहिले नै दिन थालेका छन् । एकीकृत समाजवादीलाई यसअघि मुख्यमन्त्री बनाएको जस रहेको कारण नैतिक हिसावले आफूलाई समर्थन आउने आङ्बोको विश्वास छ । प्रदेशको नामाकरणमा एमालेले राखेको प्रस्ताव नै पारित गर्न काँग्रेससहित आफ्नो पार्टीको भूमिका देखाएका आङ्बोप्रति हालका मुख्यमन्त्री कार्की पनि धेरै नकारात्मक हुनसक्ने अवस्था छैन । यद्यपि प्रदेशसभाका माओवादी सांसदहरुले भन्न थालेका छन्, ‘एउटा कार्यकाल मुख्यमन्त्री माओवादीले पाउने गरी सहमति गरेर एमालेसँगकै समीकरण टिकाउनु पर्छ ।’ अन्तिममा माओवादी केन्द्रले आफ्नो हातमा मुख्यमन्त्री नआउने परिस्थितिमा त्यही विधि अपनाउने र आङ्बो मुख्यमन्त्री बन्नसक्ने देखिन्छ ।
कोशी प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपा मिलेर बहुमत (६० सांसदको समर्थन) जुटाएर गत पुस २५ मा मुख्यमन्त्री बनेको छ । एमाले र माओवादी मात्रै मिल्दा सहज बहुमत ५३ जना पुग्छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ । अहिलेको सरकारलाई समर्थन फिर्ता लिँदा अस्थिरताको दोष लाग्ने, मुख्यमन्त्री हात नलाग्ने, मन्त्री पदहरु धेरै बाँड्नुपर्ने परिस्थिति भन्दा एमालेसँग मिलेर अझै सम्मानजनक स्थितिमा आफूलाई उभ्याउने माओवादीको दाउ देखिन्छ । ‘हाम्रो लागि एमालेसँगकै समीकरण सहज हुन्छ, त्यसका लागि केन्द्रले सहमति दिनुपर्छ,’ यसअघि नै माओवादीका मन्त्री दुर्गाप्रसाद चापागाईंले भनिसकेका छन् ।

