विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले ध्वनि नियन्त्रणको तयारी सुरु गरेको छ ।

मंगलबार विराटनगरस्थित धार्मिक र नागरिक समाजका अगुवाहरुलाई बोलाएर कसरी ध्वनि प्रदूषण नियन्त्रण गर्ने भन्ने विषयमा सुझाव मागेको छ । अन्तरक्रियामा सहभागीहरुले महानगरले सुरु गरेको अभियानमा साथ दिने प्रतिबद्धता जनाएका छन् । उनीहरुले डिजेका कारण मुटुका रोगी, ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई बढी असर परेकाले नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।

छोयलिङ बौद्ध गुम्बा रानीका कोषाध्यक्ष अनुपकुमार स्याङ्बोले पछिल्लो समय महानगरपालिकाले जनआकांक्षाअनुसारका कार्य गरेको भन्दै प्रशंसा गरे । उनले ध्वनि प्रदूषण नियन्त्रण अति नै आवश्यक रहेको बताए । “सुत्नै नसक्ने डिजे बजाउने गरिएको छ । सडक नै ढाकेर विवाह र धार्मिक कार्यक्रमका लागि टेन्ट टाँगिएको हुन्छ,” उनले भने, “यो नियन्त्रण हुनुपर्छ । यसमा हाम्रोतर्फबाट साथ रहन्छ ।” इसाई समाज विराटनगरका अध्यक्ष सुरज मल्लले धार्मिक कार्यक्रम गर्दा अरुलाई असर नपर्ने गरी गर्नुपर्नेमा जोड दिए । उनले इसाई समाजले बाहिर कसैले थाहै नपाउने गरी हलभित्र धार्मि कार्यक्रम गर्ने गरेको सुनाए । “इसाई धर्म मान्नेहरु स्वभावकै शान्तिप्रिय हुन्छन्,” मल्लले भने, “हाम्रोतर्फबाट कहिल्यै पनि ध्वनि प्रदूषण हुनेगरी धार्मिक कार्यक्रम गर्दैनौं ।” मुस्लिम समुदायको तर्फबाट जमियत उलामा ए–नेपालका अध्यक्षले अब्दुल सुब्हानले ध्वनि प्रदूषण नियन्त्रणका लागि आफ्नो समुदायले महानगरलाई साथ दिने प्रतिबद्धता जनाए । ओसो ध्यान केन्द्रका संयोजक दिलीपकुमार मण्डलले महानगरले अत्यन्तै सान्दर्भिक विषयमा छलफल चलाएको भन्दै प्रशंसा गरे । उनले डिजेमा प्रतिबन्ध लगाउन सुझाव दिए । “डिजेमा त प्रतिबन्ध लगाउनै पर्छ,” उनले भने, “धार्मिक कार्यक्रम पनि अरुलाई असर नपर्ने गरी गर्दा राम्रो हुन्छ ।”

अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले विराटनगरलाई सुव्यवस्थित, संस्कारयुक्त र अनुशासित सहर बनाउने अभियानअन्तर्गत ध्वनि प्रदूषण कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको बताए । उनले मुटुरोगीलाई ध्वनि प्रदूषणले सबैभन्दा बढी समस्यामा पारेको सुनाए । मेयर कोइरालाले एउटै छलफलबाट निष्कर्षमा पुग्नुभन्दा फेरि अर्को छलफल गरेर सबैको राय लिएर निष्कर्षमा पुग्ने प्रस्ट पारे ।

कार्यक्रमको उद्देश्यमाथि प्रमुaख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले प्रकाश पारेका थिए । उनले सडकमै विवाह र धार्मिक कार्यक्रम गर्दा आवतजावतमा समस्या हुने गरेको बताए । धार्मिक कार्यक्रममा चारैतर्फ फर्काएर माइक बजाउँदा वरपर बसोबास गर्नेलाई समस्या भएको उल्लेख गरे । कोइरालाले धार्मिक क्षेत्रमा लागेका अगुवा, नागरिक समाज र बुद्धिजीवीको धारणा लिएर महानगरले ध्वनि प्रदूषण नियन्त्रणको निर्णय गर्ने जानकारी दिए । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, १८ का जितेन्द्रकुमार साहलगायत कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।