संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका –७ का वडाध्यक्ष नगेन्द्र कार्की अमेरिका गएपछि पाँच महिनादेखि वडा कार्यालयको काम प्रभावित भएको छ ।
जनताको सेवा गर्छु भनेर भोट मागेर विजयी भएका वडाअध्यक्ष कार्की निर्वाचित भएको ५ महिनापछि अमेरिका पुगेको खुलेको छ । कार्की नेपाली काँग्रेसबाट निर्वार्चित वडाध्यक्ष हुन् ।

वडाध्यक्ष कार्की अमेरिका गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी मेखबहादुर विश्वकर्मालाई दिइएको चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण कुमार ढकालले बताए । कार्की गत असोज महिनामा अमेरिका गएका हुन् । घरयासी कामको शिलसिलाका कारण नगरबाहिर जानुपर्न भएकाले उपस्थित हुन नसक्ने जानकारीसहितको पत्र दिएर उनी अमेरिका पुगेको पाइएको छ ।

कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका विश्वकर्मा समेत विदामा बसेपछि एक महिना अघिबाट वडाअध्यक्षको जिम्मेवारी टिका राना मगरले पाएकी छन् । विश्वकर्मा पनि विदामा बसेपछि एक महिनादेखि अध्यक्षको जिम्मेवारी पाएको मगरले बताइन् ।

वडाध्यक्ष अमेरिका पुगेपछि जनताका चासो गुनासो दैनिक आउन थालेको उनको भनाइ छ । सरकारी पदमा बसेकाहरू कानुनअनुसार ३ महिनाभन्दा बढी बिदामा बस्न नमिल्ने ब्यवस्था छ । वडाध्यक्ष अमेरिका गएकै ५ महिना नाघिसक्यो ।

सरकारी कामकाज वा घुमफिरका लागि उनी अमेरिका गएका भने होइनन् । वडाअध्यक्ष कार्कीले उपचार लागि भन्दै गत असोजमा अमेरिका उडेका थिए । कर्मचारीलाई डिभी परेर गए जागिरबाट हात धुनुपर्ने व्यवस्था छ । तर, जनप्रतिनिधिका लागि भने के गर्ने भन्ने प्रष्ट कानुन छैन ।