इटहरी । सुनसरीको इटहरी उपमहानगरले सरकारी कर्मचारी र जनप्रतिनिधिहरुलाई उत्पन्न हुने तनाव व्यवस्थापन गर्ने तालिम सञ्चालन गरेको छ ।

तनावपूर्ण वातावरणले कर्मचारीको निर्णय क्षमतामा असर नपरोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।

कर्मचारी र जनप्रतिनिधिलाई सदाचारी पेसागत जीवन बिताउनका लागि प्रेरित गर्न र कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिम राखिएको उनको भनाइ छ । कर्मचारी र जनप्रतिनिधिहरुलाई तनाव व्यवस्थापनको तालिम राखेका सम्भवतः नेपालकै पहिलो भएको उनले दावी गरे ।कर्मचारीहरू र जनप्रतिनिधीहरुमा अत्यधिक थकान, काममा नियमित अनुपस्थिति, काम गर्नै मन नलाग्ने, कार्यक्षेत्रमा झगडा, उत्प्रेरणाको अभाव, आत्मबलमा कमी जस्ता समस्या देखेपछि तनाव व्यवस्थापनको तालिम राखिएको हो । जनताको सीधा सम्पर्कमा रहने इटहरी उपमहानगरपालिकाका कर्मचारीलाई जनसम्पर्क प्रभावकारी बनाउने तरिका सिकाइएको थियो ।

कार्यालयमा उत्पन्न हुन सक्ने द्वन्द्व र त्यसको व्यवस्थापनका लागि तरिका पनि सिकाइयो । तालिममा उपमेयर सङ्गीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, वडाध्यक्षसहित कर्मचारीहरू सहभागी थिए । जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेश समितिको सहकार्यमा भएको तालिम कार्यक्रममा जीवन विकास विशेषज्ञ रमेश नेपालले तनावको व्यवस्थापन कसरी गर्ने भन्ने तरिका र ज्ञान तालिम सिकएका थिए ।
नेपालले भने मानिसको स्वास्थ्य फगत शरीरसँग मात्रै नजोडिने बताउँदै मानिस पूर्णरुपमा स्वस्थ हुनको लागि शारीरिकसाथै मानसिक र सामाजिक रूपमा समेत समस्यामुक्त हुनुपर्ने बताए । मानसिक रूपमा स्वस्थ व्यक्तिले मात्र आफ्नो क्षमताको अधिकतम उपयोग गर्नसक्ने उनको भनाइ छ ।