कस्तो स्ववियु ? कस्ता विद्यार्थी संगठन ?

 सम्पादकीय

चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मुखैमा हाम्रा विश्वविद्यालयहरुमा जे–जस्ता घटनाहरु घटित भइरहेका छन्, त्यसले हाम्रो शिक्षा प्रणालीदेखि राजनीतिक दलहरुको आन्तरिक ‘स्कुलिङ’ मा रहेको कमजोरीसमेत छताछुल्ल पारेको छ । चुनावको मुखमा विद्यार्थी संगठनहरु एजेण्डाको बलमा होइन, बाहुबलको आडमा विद्यार्थी कज्याउने प्रयासमा देखिन्छन् । जताततै भइरहेका झडप, तालाबन्दी, विवादहरुले विद्यार्थी संगठनहरु सुसंस्कृत राजनीतिक संस्कारबाट दिक्षित नभएको र हुनै नचाहेको देखाउँछ । कक्षाकोठाको सुधार, विश्वविद्यालय शिक्षाको प्रभावकारिता, निरन्तर मौलाइरहेको विभेदकारी शैक्षिक गतिविधिहरु स्ववियु निर्वाचनको एजेण्डा बन्न सकेका छैनन् । परम्परा धान्नमै सिमित यस्तो विद्यार्थी राजनीतिले विश्वविद्यालय सुधारमा सहयोग गर्ने कल्पना गर्न सकिन्न ।

यसरी आपसी झडप र तिक्तताले स्वस्थ राजनीतिक प्रतिष्पर्धालाई रोक्छ । स्वच्छ प्रतिष्पर्धा निषेध गरेर गरिने चुनावी होडले हुर्काउने संस्कार लोकतन्त्रका लागि घातक हुन्छ । स्ववियु परिकल्पनाको मुख्य आधार भनेको विद्यार्थी हकहितका लागि उनीहरुले नै आफ्नो नेतृत्व चुन्ने हो । यद्यपि यही मात्रै भने अवश्य होइन । भविष्यका लागि नेतृत्व उत्पादन गर्ने प्रारम्भिक थलो पनि हो स्ववियु । त्यसैले बिहानीले सिंगो दिनको संकेत गर्छ भने झैं आज कलेजहरुमा प्रतिष्पर्धामा रहेका विद्यार्थी नेताहरुमध्ये धेरैले भोलि आफूलाई दलको नेताका रुपमा उभ्याउने प्रयास गर्नेछन् । बाहुबली शैलीबाट विद्यार्थी राजनीति गरेकाहरुले पछि दलको जिम्मेवारीमा पुग्दा यो शैली छोड्ने अपेक्ष ागर्न सकिन्न । जे सिकेको हो, मान्छे त्यसैमा अभ्यस्त हुन मनपराउँछ । यसर्थ स्ववियुलाई अनावश्यक राजनीतिक उछलकुदको अखडा बनाउनेभन्दा पनि सिर्जनात्मक मन्च बनाउन दल र तिनका विद्यार्थी संगठन लाग्नुपर्छ । माऊ पार्टीहरुकै सिको विश्वविद्यालयहरुमा गर्ने हो भने स्ववियु र विद्यार्थी संगठनहरुको औचित्य संकटमा पर्ने निश्चित छ ।

विद्यार्थीहरुलाई राजनीतिक चेतले निखार्ने र नेतृत्व विकास गर्ने वैधानिक थलोस्ववियुलाई पुरानै ढर्रामा चलाइरहने हो भने यसले सान्दर्भिकता गुमाउने निश्चित छ । अहिलेका जल्दोबल्दो शैक्षिक मुद्दाहरुमा विद्यार्थी संगठनहरु सर्वथा अनुपस्थित छन् । तिनै संगठनले हाँक्ने स्ववियु उपस्थित हुने कुरै भएन । सूचना प्रविधिको अधिकतम विकासले विश्वविद्यालय शिक्षामा ल्याएको विश्वव्यापी परिवर्तन अनूकूल नेपालको शिक्षा प्रणाली विकास गर्नुपर्ने आवाज हाम्रा विद्यार्थी संगठनहरुको मुखबाट हराएको छ । केवल माऊ पार्टीको लाचार अनुयायी हुने, र आलोचनात्मक चेत भुत्ते बनाउने ठाउँ विद्यार्थी संगठन बनेका छन् । विगतमा अधिकारका लागि गरेको संघर्ष देखाएर मात्रै अब तिनको औचित्य पुष्टि हुँदैन । नविन युगका जोसिला विद्यार्थी डोर्याउने संगठनहरु समयानुकूल परिमार्जित हुनैपर्छ । स्ववियु चुनाव त्यसको प्रस्थानविन्दू हुनसक्छ । यदि इच्छाशक्ति भए दलका भ्रातृ संस्थाहरुले आफूलाई परिवर्तनको बाहक बनाउन सक्छन् । त्यसका लागि स्ववियुलाई दलीय शक्ति प्रदर्शनको माध्यम होइन विद्यार्थीहरुको प्रिय मन्च बनाउने प्रण गर्नुपर्छ ।

यसका लागि विद्यार्थी संगठनहरु दलहरुतिर होइन, पूरापूर विद्यार्थीतिर फर्कन सक्नुपर्छ । सिर्जनात्मक अभ्यासहरुमा विद्यार्थीलाई व्यस्त बनाउन सहयोग गर्ने, विद्यार्थीमा अन्तरनिहीत प्रतिभालाई प्रष्फुटित गराउन मद्दत गर्ने, विश्वविद्यालयको शिक्षा सुधारमा सहयोगी हुने जस्ता आधारभूत गतिविधिमा उनीहरु केन्द्रीत हुनुपर्छ । विद्यार्थी संगठनहरु दलको राजनीतिक भरिया मात्रै बन्ने अवस्था अन्त्य हुनैपर्छ । अहिलेका उन्नत चेतनासहितका विद्यार्थीलाई अझै परिस्कृत तुल्याउने काम कलेजहरुमा हुनुपर्छ । स्ववियु मुख्य रुपमा यही काममा सहयोगी बन्नुपर्छ ।

बुधबार, ०१ चैत, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर