विराटनगर । आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । कुनै बेला स्ववियु निर्वाचन हुँदा देशकै केन्द्रजस्तो बन्ने महेन्द्र मोरङ क्याम्पसमा त्यसबेलाको जस्तो चुनावी रौनक यस पटक भने छैन । उक्त क्याम्पसको स्ववियु नेतृत्वका लागि विभिन्न संगठनहरुले आ–आफ्ना उम्मेद्वारी दिएर विद्यार्थीसँग भोट मागिरहेका छन् । एउटा सुखद पक्ष के छ भने विगतको निर्वाचनमा जस्तो यो पटकको निर्वाचनमा विद्यार्थी संगठनहरुबीच कुनै तिक्तता तथा कटुटा देखिएको छैन । झडप, कुटपिट र काटमारका कुरा पनि सुनिएको छैन । एक हिसावले भन्ने हो भने स्वस्थ प्रतिस्पर्धामा विद्यार्थी संगठनहरु लागिरहेका छन् ।

‘यो पटक सुरुदेखि नै कम मेहनत गरिएको छैन, अहिलेको शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउनका लागि विद्यार्थी नेताहरुलाई सुरुका दिनदेखि नै बोलाएर पटकपटक माइन्युटमा हस्ताक्षर गर्न लगाएका छौं,’ महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिम्सिना बताउँछन्, ‘विगतमा जस्तो यस पटक झैझगडा हुँदैन भन्ने लागेको छ ।’

स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी)बाट सचिवमा उम्मेद्वारी दिएकी आशिका लम्साल पनि विगतमा जस्तो यो पटक नहुने बताउँछिन् । ‘विगतमा ठूलो गुण्डागर्दी हुन्थ्यो अरे, अघिल्लो पटकको स्ववियु निर्वाचन पूर्व ठूलो झडप भएको थियो,’ उनले भनिन्, ‘अहिले हामी सबैले स्वस्थ्य ढंगले शान्तिपूर्ण रुपमा आ–आफ्ना गतिविधि गरेका छौं । सबैजनाले भए गरेका सहमति पालना गरेका छौं ।’

महेन्द्र मोरङमा स्ववियुको इतिहास

महेन्द्र मोरङ क्याम्पसमा पहिलो पटक २०३६ सालमा ध्रुवनारायण श्रेष्ठको सभापतित्वमा स्ववियु गठन भयो । २०३८ सालमा भने स्ववियु निर्वाचनका क्रममा तत्कालिन नेविसंघका नेतासमेत रहेका विजयकुमार गच्छदारको टिमले कब्जा गर्यो । त्यही वर्षको मंसिर ९ गते फणिन्द्र तिम्सिनाको हत्या भयो । त्यसपछि लामो समय स्ववियु कार्यालयमा तालाबन्दी भयो । त्यसपछि भएको ४० सालको स्ववियु निर्वाचनमा भरतराज पोखरेल सभापतिमा निर्वाचित भए । २०४१ सालमा रमेश भट्टराई निर्वाचित हुँदा २०४३ सालमा भुराज राई सभापति चयन भए । ०४५ देखि ०४९ फागुनसम्म महेश रेग्मी सभापति चयन भए । ४९–५१ देखि यदु विष्ट, ५१ देखि ५३ गुरुराज घिमिरे सभापतिमा चयन हुँदा ५३ सालमा ऋषिकेश पोखरेल, २०५५ सालमा उपेन्द्र गच्छदार, २०५७ र २०६० मा सागरकुमार थापा, २०६२ सालमा भीम पराजुली र २०६५ सालमा जयराम सुन्दासको नेतृत्वमा स्ववियु गठन भएको हो ।

जयराम सुन्दास निर्वाचित हुनुपूर्व पनि क्याम्पसमा भएका झडप र आक्रमणको कहाली लाग्दो श्रृंखला रहेको छ । २०६४ साल फागुन १० गते पोखरा क्याम्पसमा एमाले अखिलसँग क्रान्तिकारीको झडप भयो । त्यसैको विरोधस्वरुप नेविसंघ र अखिल मिलेर महेन्द्र मोरङ क्याम्पसमा पनि बन्द हड्ताल सुरु गरे । त्यसको विरोधमा अखिल क्रान्तिकारी उत्रियो । विवाद बढ्दै जाँदा झडप भयो र फागुन १३ गते क्रान्तिकारीको नेतासमेत रहेका जयराम सुन्दासलाई १३ ठाउँमा काटियो । त्यसबेला हालका एमाले नेतासमेत रहेका पर्शुराम बस्नेतलगायतको टोलीले सुन्दासलाई आक्रमण गरेको थियो । पछि उनै सुन्दासको नेतृत्वमा एमाले अखिलसमेत सहभागी भएर ०६५ साल जेठमा सम्पन्न निर्वाचनमा होमियो र सुन्दास सभापतिमा विजयी भए ।

त्यसबेलाको स्ववियु र अहिलेको स्ववियु

तत्कालिन सभापति रेग्मी हाल नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य हुन् । उनी पहिलेको स्ववियु र अहिलेको स्ववियु निर्वाचनमा आकाश जमिनको फरक भएको बताउँछन् । ‘अहिलेको र त्यतिखेरको स्ववियु निर्वाचन आकाश जमिनको फरक छ । त्यतिखेरको निर्वाचनमा राजनीतिक दललाई प्रतिबन्ध थियो । क्याम्पसमै राजनीतिक दलहरुको गतिविधि केन्द्रीत हुन्थ्यो । राजनीतिक आन्दोलनहरुमा पनि विद्यार्थीको भूमिका सशक्त थियो,’ उनी भन्छन्, ‘राजनीतिक हिसावले मोरङ क्याम्पसको निर्वाचनलाई देशैभरीबाट चासोका साथ हेरिन्थ्यो । बहुदल आएपछि क्याम्पसलाई शैक्षिक आन्दोलनको केन्द्र बनाउनु पर्नेमा त्यसो भएन । गुण्डागर्दी संरक्षणको केन्द्र जस्तो बन्यो । अहिलेको विद्यार्थी आन्दोलन भने शैक्षिक आन्दोलनको अभियानमा पनि र विद्यार्थीको हक अधिकारको विषयमा पनि कमजोर जस्तो भएको छ । अबका दिनमा त्यसलाई सुधार गरेर लैजानु पर्छ ।’

पूर्व स्ववियु सभापति समेत रहेको एमाले नेता सागर थापा पनि अहिलेको स्ववियु निर्वाचनप्रति विद्यार्थीको आकर्षण नभएको बताए । ‘पहिले महेन्द्र मोरङमा विद्यार्थीहरु बढी स्ववियुप्रति आशावादी थिए । उनीहरुलाई स्ववियु चाहिन्छ भन्ने जस्तो थियो । तर, अहिलेका विद्यार्थीहरु यो स्ववियु चाहिन्छ भन्ने भन्दा पनि मेरो दाई उठेको छ । मेरो साथी निर्वाचनमा उठेको छ, उसलाई भोट दिएर जिताउँ न त भन्ने खालको मात्रै छ । स्ववियु स्थापित गराएर व्यक्ति स्थापित हुनुपर्नेमा अहिले स्ववियु ओझेलमा र व्यक्ति चर्चामा भएको अवस्था छ,’ उनी भन्छन्, ‘अहिले विद्यार्थीहरु आफ्ना अधिकारमा आफैं आत्मनिर्भर भएका छन् । पहिले चाहिं स्ववियुले विद्यार्थीलाई अधिकार दिन्छ भन्ने थियो । तर, अहिले नीजि क्षेत्रका क्याम्पसहरुको प्रभावका कारण पनि स्ववियुमा विद्यार्थीको क्रेज देखिँदैन । महेन्द्र मोरङ क्याम्पस पनि प्राइभेट जस्तो महँगो भएको छ । गरिवका छोराछोरीले पढ्नै नसक्ने अवस्था बनेको छ । त्यसलाई सस्तो गर्ने गरी विद्यार्थी संगठनहरु लाग्नुपर्छ ।’

पूर्व स्ववियु सभापति समेत रहेका हालका प्रदेशसभा सांसद भीम पराजुली पनि अहिले विद्यार्थी आन्दोलन नै कमजोर भएको दाबी गर्छन् । ‘०६२–६३ सालको आन्दोलनमा सात दलको भन्दा ठूलो जुलुससहितको आन्दोलन हामीले गथ्र्यौं । हिंजो राजनीतिक अधिकारका लागि विद्यार्थीहरु लडेका थिए । धेरै नेताहरु पनि विद्यार्थी आन्दोलनबाटै जन्मिए । तर, अहिले त्यो खालको नेतृत्व नभए जस्तो देखिन्छ,’ पराजुली भन्छन्, ‘लामो समयसम्म स्ववियु निर्वाचन भएन त्यसले पनि यो अवस्था आएको होला ।’

निवर्तमान सभापति जयराम सुन्दास पनि त्यसबेलाको स्ववियु निर्वाचन र अहिलेको स्ववियु निर्वाचन आकाश जमिनको फरक रहेको बताउँछन् । ‘अहिले हेर्दा शान्त जस्तो देखिएको छ । त्यतिबेला हामी क्रान्तिकारी विद्यार्थीले क्याम्पसलाई गुण्डागर्दी मुक्त बनाउनु पर्छ भन्यौं । त्यसको बदलामा हामी माथि आक्रमण पनि भयो,’ सुन्दास भन्छन्, ‘अहिले लामो समयसम्म स्ववियु निर्वाचन नभएको, नेतृत्वको श्रृङ्खला पनि टुट्दै गएको अवस्था छ । त्यस्तै विद्यार्थीको नेतृत्व गर्नसक्ने लिडरसिपको अवस्था पनि कमजोर देखिएको छ । उम्मेद्वारको हिसावले पनि त्यस्तो लिडर छ जस्तो मलाई लागेको छैन ।’

* यसअघि प्रकाशित स्ववियु निर्वाचनको इतिहास तोडमोड शीर्षकसहितको समाचार सच्याइएको छ । – सम्पादक