पाँचथर । पाँचथरका चारवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका सबै पदाधिकारी निर्विरोध चयन भएका छन् ।

पाँचथर बहुमुखी क्याम्पस, यासोक क्याम्पस, रवि क्याम्पस र थर्पु क्याम्पसमा स्ववियुका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र संघीय विद्यार्थी युनियनका नेतृत्वले भागबण्डा गरेर क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनमा उम्मेदवारी दर्ता गराएका थिए ।

पाँचथर बहुमुखी क्याम्पसमा सबै पदमा एकल उम्मेदवारी दर्ता हुनुका साथै दर्ता भएका उम्मेदवारमाथि दाबी विरोध नपरेकाले स्वतः निर्विरोध निर्वाचित भएको सूचना टाँस गरिएको क्याम्पस प्रमुख लक्ष्मीप्रसाद ढुंगानाले बताए ।

सदरमुकामको पाँचथर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, दुईवटामा अनेरास्ववियु र एउटा क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीले स्ववियु अध्यक्षको नेतृत्व लिएका छन ।