इटहरी । इटहरी उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) हेमकर्ण पौडेलले टिकटकलाई सूचनाको स्रोत बनाउने गरेका छन् । उनी लाइभ बसेर सूचना लिनेगरेका छन् । एक महिनादेखि लगातार उनी लाइभमा बसेका छन् । दैनिक १ घण्टा लाइभमा बस्दा आएका सकारात्मक र नकारात्मक सूचनालाई टिपोट गरेर अध्ययन गरेर कार्यान्वयन गर्ने गरेको मेयर पौडेलले बताए ।

जनताका गुनासा सुझाव सुन्नका लागि पनि टिकटक प्रयोग गरेको मेयर पौडेलले बताए । ‘उपमहानगरभित्रका सबै कुरा मलाई जानकारी नहुन पनि सक्छ,’ उनले भने ‘नगरभित्रका सूचना लिनका लागि टिकटक लाइभ बस्ने गर्छु ।’

आएका नकारात्मक कमेन्ट डिलिट नगरी त्यसलाई टिपोट गरेर बुझ्नेगरेको उनले बताए । युवाहरूबाट सजिलै टिकटकबाट सूचना आउनेगरेकाले समस्या समाधानमा सहज भएको उनको भनाइ छ ।

‘अहिले निकै राम्रो गरेको छ । म दिनभरि व्यस्त भएका कारणले कार्यालयमा आउँदा पनि धेरैले भेट्न सक्नु हुँदैन । धेरैले गुनासा तथा सुझाव लिएर आउनुभएको होला । तिनै सुझावलाई समेट्न लाइभ बसेको हुँ’ उनले भने ।

आफ्नो जानकारीमा नभएका सामान्य कुरा पनि टिकट माध्यमबाट नगरवासीले सूचना दिनेगरेको उनले सुनाए । लामखुट्टेले दुख दिएको भनेर लाइभमा धेरै नगरवासीले भनेकाले रोकथामका लागि औषधि छर्कने तयारी भएको मेयर पौडेलले सुनाए ।
आएका नकारात्मक कमेन्ट डिलिट नगरी त्यसलाई टिपोट गरेर बुझ्नेगरेको उनले बताए । युवाहरूबाट सजिलै टिकटकबाट सूचना आउनेगरेकाले समस्या समाधानमा सहज भएको उनको भनाइ छ ।

विकास निर्माणको काममा पनि ठूलो मद्दत पुगेको उनले बताए । ‘हामी नगरसभा गरिरहेका छौं,’ उनले भने ‘धेरै साथीले टिकटकबाट विकास निर्माणलगायत अन्य क्षेत्रको विकासका लागि बजेट माग्नुभएको छ । तिनै सूचनालाई आधार मानेर बजेट निर्माण गरिरहेका छौ ।’ उनले नगर सभाबाट पास भएपछि मात्रै ती योजना सार्वजनिक गरिने बताए । चैत ३ गते बस्ने नगरसभाले योजना पास गर्ने उनले बताए ।

‘समस्याहरू रेकर्ड राख्ने गरेको छु । आएका सूचनालाई टिपेर सम्बन्धित शाखाका कर्मचारीलाई बोलाएर बुझन पठाउने गरेको छु । बाटोघाटोको कुरा आउँछ प्राविधिकलाई पठाएर तुरुन्तै बुझन लगाएर योजना बनाउने गरेको छु’ उनले भने ।

धेरैले टिकटिकमा बसेको भनेर गाली गरेको समेत उनले सुनाए । आफ्नै पार्टीका नेताले उपमहानगरको मेयर टिकटकमा लाइभ बस्नु हुँदैन भनेर सुझाव दिने गरेको मेयर पौडेलले सुनाए । सामाजिक सञ्जालको दुरुपयोग बढिरहेका बेला सूचनाको स्रोत बनाएर आफूले सन्देश दिन खोजेको उनले जनाएका छन् । युवा बालबालिका महिलाका सम्बन्धमा सूचना बढी आउनेगरेको मेयर पौडेलको भनाइ छ ।

करार कर्मचारीलाई सञ्चय कोष

प्रशासनिक खर्च घटाउन उपमहानगरपालिकाले कर्मचारीले पाउँदैआएको मासिक खाजा भत्ता र तेल पाउने सुविधा भोलिदेखि कटौती गर्दैछ । उपमहानगरपालिकाले कर्मचारीलाई मासिक ५ हजार रुपैयाँ खाजाबापत दिँदैआएको थियो ।

फागुन २६ गते बसेको १२८ औँ कार्यपालिका बैठकले खाजा भत्ता र तेलको सुविधा चैत १ गते देखि कटौती गर्ने निर्णय गरिसकेको उनले बताए । उपमहानगरपालिकामा ४७० जना कर्मचारी छन् । ती कर्मचारीका लागि खाजा भत्तामा वार्षिक करिब २ करोड ८२ लाख हाराहारी खर्च हुँदैआएको थियो ।

तेल कटौती हुँदा वार्षिक एक करोड सात लाख रुपैयाँ हाराहारी रकम जोगिने मेयर पौडेलले बताए । मोटरसाइकल नै नभएका कर्मचारीलाई पनि तेल दिनेगरेको पाइएपछि तेल रोकेको उनले सुनाए ।

इटहरी उपमहानगरपालिकाले कर्मचारीलाई ऐन बनाएर दिँदैआएको सञ्चय कोष खारेज गर्ने प्रक्रिया शुरु गरिएको नगरप्रमुखको भनाइ छ । ‘७५३ स्थानीय तहमै कहीँ नभएको काम इटहरीले गरेको रहेछ । अघिल्ला महानगरका पदाधीकारीले करार कर्मचारी ऐन ल्याएर सञ्चय कोष र उपदान दिने व्यबस्था गरेका रहेछन् ।’ यसबाट उपमहानगरलाई आर्थिक भार पर्दैआएको थियो ।

चालु खर्चको बजेट नै काटेर त्यता लगाउनेगरेको पाएपछि ऐन संशोधन गरेर सञ्चय कोष हटाउन लागिएको उनले बताए । तीन सयभन्दा बढी करारमा कर्मचारी कार्यरत रहेको मेयर पौडेलले बताए । धेरै कर्मचारी एकै पटक निस्केमा उपमहानगर आर्थिक रुपले अप्ठ्यारोमा पर्ने भएकाले पनि त्यसवाट बचाउन सञ्चय कोष र उपदान हटाउन लागिएको मेयर पौडेलको भनाइ छ ।