विराटनगर । नेकपा एमालेले कोशी प्रदेशको एकमात्र महानगर विराटनगर कमिटीले पाँच हजार पार्टी सदस्यलाई नविकरण गर्ने अभियान सुरु गरेको छ । मिसन ग्रासरुट अभियान अन्तरगत महानगरका १९ वडा कमिटी र १७४ वटा टोल कमिटीको भेला बैठक गरिरहेको छ ।
महानगर कमिटीका अध्यक्ष सागर थापाले महानगरभित्र नेकपा एमालेका पाँच हजार संगठित सदस्य रहेका र तीनिहरुको अवस्था बुझ्ने र सदस्यता नविकरण गर्दै मिसन ग्रासरुटलाई अघि बढाउने काम भइरहेको जानकारी दिए ।
पार्टीका केन्द्रीय प्रतिनिधि विशाल भट्टराई पनि ग्रासरुटको नेतृत्व गरेर टोलटोलमा पुगेर कार्यकर्तालाई उर्जा दिने काम भइरहेको थापाले बताए । सोमबारमात्र विराटनगर ११ स्थित बुद्धबिहार टोल संगठनको आयोजनामा वृक्षरोपणको काम गरिएको उनले बताए ।
मिसन ग्रासरुटको कार्यक्रम दिनहुँरुपमा महानगरमा भइरहेको र चैत १० गतेभित्र टोलका सबै अधिवेशन सम्पन्न गरिसक्ने थापाले जानकारी दिए । मिसन ग्रासरुट कार्यक्रम अन्तरगत ओखलढुंगाको सिद्धिचरण नगरपालिका ९ मा अभिमुखिकरण तथा योजना निर्माण कार्यक्रम भएको छ । कार्यक्रममा मिसन ग्रासरुटलाई प्रभावकारी ढंगले अगाडि बढाउने छलफल भएको एमाले प्रदेश कार्यालयका नेता नरेन्द्र बरालले जानकारी दिए ।

