दुहबी । सुनसरीको बर्जु गाउँपालिले उच्च अदालत विराटनगरको आदेश अवहेलना गरेको स्थानीयले गुनासो गरेका छन् । अदालतको आदेश विपरित बर्जु ५ स्थित मिलन चोकमा रहेको सुकुम्बासी बस्तीमाथि पालिकाले डोजर लगाउने बारम्बार प्रयास गरेको स्थानीयको गुनासो छ ।

स्थानीय जमिन्दारको इसारामा गाउँपालिकाले सुकुम्बासीमाथि डोजर चलाउने योजना बनाएको स्थानीयले बताएका छन् । गाउँपालिका कार्यालय वरिपरिका देवानगञ्ज–विराटनगर सडकको उत्तर र दक्षिण क्षेत्रमा बसोबास गर्दै आएका २८ घर सुकुम्बासीमध्ये ७ घर सुकुमबासीमाथि डोजर लगाउन गाउँपालिकाले शनिबार ५ दिने सूचना दिएको छ ।

गाउँपालिकाको कार्यालयसँगै सडक छेउको ऐलानी जग्गामा ८ कोठे सटर भएको घर र एनआइसी एसिया बैंक रहेको भवनकै लाइनमा रहेका साना टहराहरु मात्रै भत्काउन गाउँपालिकाले अल्टिमेटम दिएको छ । हाटबजार व्यवस्थापन र प्रहरी चौकी स्थापनाको नाममा सो काम भएपनि ठूला भवनलाई भने वास्ता गरिएको छैन ।

देवानगञ्ज–विराटनगर सडक २०७६ सालमा नालीसहितको कालोपत्रे भइसकेकोले अहिले बस्ती हटाउनुपर्ने कुनै कारण नरहेको स्थानीय बताउँछन् । सडकदेखि दक्षिणतर्फ वि.स. २०१६/१७ सालदेखि बसोबास गर्दै आएकाहरुमध्ये २०२४ चैत्र १५ गते नापी हुँदा ३ घर नक्सामा समेत तत्कालिन गाउँ पञ्चायतमा उल्लेख रहेको र उनीहरूले धुरीकर समेत बुझाउँदै आएको स्थानीय रामसागर अधिकारीले बताए ।
सडकको उत्तरपट्टी किशोर चौधरीले भोगचलन गर्दै आएको स्व. प्रभुनन्दन दासको छोरा कौशल दासको करिब १८ कट्ठा जग्गा रहेकोमा देवनारायण साह र कुलानन्द शर्माको घरका कारण मोहोडा छेकिएको हुनाले ती घरटहराहरु हटाउन षड्यन्त्र भएको स्थानीयको आरोप छ । देवनारायणले २०५० सालदेखि धुरीकर तिर्दै आएको बताएका छन् ।

दक्षिणतर्फ मोरङ सुगर मिल्सले साल्ट ट्रेडिङ कर्पोरेसनलाई भाडामा दिएको जग्गा रहेको छ । डोजर लगाउनका लागि सडकको उत्तरपट्टी कौशल दासको जग्गासँग जोडिएको देवनारायण चौधरी र कुलानन्द शर्मा बढहीको घर भत्काउन भनिएको छ । त्यसैगरि दक्षिणतर्फ मोरङ सुगर मिल्सको जग्गासँगै जोडिएको गणेशमान सिंह चौधरी, भोला परियार, छविलाल चौधरी, विनोद सिंह, सञ्जिवकुमार चौधरी, हरिनन्दन रामको घर भत्काउन ५ गाउँपालिकाले अल्टिमेटम दिएको छ ।

२०७४ सालमा गाउँपालिकाले त्यस क्षेत्रमा रहेका २८ घर टहरा भत्काउन प्रयास गरेपछि सुकुमबासीहरुले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले घरटहरा नभत्काउन आदेश जारी गरेपछि तत्कालीन जनप्रतिनिधिहरु पछि हटेका थिए ।अहिले एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष जिवछकुमार राय, उपाध्यक्ष नितुकुमारी चौधरी, ५ नम्बर वडा अध्यक्ष अजयकुमार चौधरीलगायतको समूहले घरटहरा भत्काउन लागेको हो । पछिल्लो पटक २०७९ भदौबाट बस्ती भत्काउने प्रयास सुरु गरिएको स्थानीय बासिन्दा बताउँछन् ।

गाउँपालिकाले भदौदेखि पहिलो पटक १५ दिने, त्यसपछि ७ दिने र अन्त्यमा २४ घण्टे अल्टिमेटमको सूचना जारी गरेको थियो । सूचनामा चित्त नबुझे गाउँपालिकामा निवेदन दिन भनिएको भएपनि पालिकाले पीडितको निवेदन दर्ता गर्न इन्कार गर्दै आएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत घर टहरा नभत्काउन आदेश दिएको थियो । तर, इलाका प्रहरी कार्यालय सितागञ्जका प्रहरी नायब निरीक्षक बाबुराम खड्काले प्रशासनको पत्र बुझ्नसमेत अस्वीकार गरेको स्थानीयले बताएका छन् ।गत शुक्रबार गते उपाध्यक्ष नितुकुमारी चौधरीको नेतृत्वमा प्रहरीसहित डोजर लिएर गाउँपालिकाको टोली घरटहरा भत्काउन पुगेको थियो । तर, स्थानीयको अवरोधका कारण ५ दिनको समय दिएर उनीहरु फर्किएका थिए ।

डा. शिवनारायण शर्मा, सुरेन चौधरी, दुखीराम चौधरी, गजेन्द्र चौधरी, सूर्यनारायण चौधरीसहितले सुकुम्बासीहरुलाई जमिन खाली गर्न दबाब दिँदै आएको बुझिएको छ । गाउँपालिका अध्यक्ष जिवछकुमार रायले चौतर्फी दवाबका कारण आफूलाई निकै गाह्रो भइरहेको बताएका छन् ।
अध्यक्ष रायले वडाध्यक्षलाई सबै कुरा थाहा भएकोले वडाध्यक्षलाई त्यसबारे नै सम्पर्क गर्न लगाए । ५ नम्बर वडाका अध्यक्ष अजयकुमार चौधरीले आफूले नियम अनुसार नै काम अगाडि बढाइरहेको भन्दै थप प्रतिक्रिया दिन माननेन् ।