गोकुल पराजुली
मुलुकको अर्थतन्त्रले अहिले तरलता अभावको झेलिरहेको छ । तरलता अभावले बैंक, वित्तीय संस्था, सहकारीहरु समस्यामा छन् । ती संस्थाहरुमात्र समस्यामा परेका छैनन्, व्यापार, व्यवसाय, उद्योग, कृषि आदि सबै क्षेत्र समस्यामा छन् । देश आर्थिक बिसृङ्खलताको अवस्थामा नगएको भएपनि समस्याहरु धेरै छन् । हरेक क्षेत्रको दैनिकी यतिबेला समस्याग्रस्त भइरहेको छ ।
आर्थिक क्षेत्रमा देखिएको समस्याका बीच यतिबेला बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरु बढी संकटमा देखिएका छन् । सहकारी संस्थाहरुले गर्ने बचत तथा ऋण कारोबारको नियमन र नियन्त्रण गर्ने निकायले प्रभावकारी भूमिका निर्वाह नगर्दा सहकारीले गरेको लगानी जोखिममा परेको छ । एकादुई सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहरुले गर्ने बदमासीले पनि सहकारी संस्थाहरुप्रतिको जनविश्वास धर्मराउन पुगेको छ । अहिलेको संकटमा त्यस्ता सञ्चालकहरुको व्यवहार र भूमिकाले थप समस्या निम्त्याइरहेको छ ।
नेपाली अर्थतन्त्रको मुख्य तीन पिलरमध्ये एक सहकारी जसले व्यक्ति व्यक्तिसँग भएको स–साना रकम बचत गरेर पुँजी निर्माण गर्छ । त्यसरी निर्माण भएको पुँजी उत्पादन र उद्यमशीलतामा लगानी गर्छ । यसले देशको उत्पादन बढाउँनुका साथै अर्थतन्त्रलाई सबल बनाउन योगदान गर्छ । त्यस्ता सहकारी संस्थाहरु पछिल्लो संकटमा झन् धराशायी बनिरहेका छन् । यसरी सहकारी संस्थाहरु धराशायी बन्दै जानुमा उनीहरुले गर्ने लगानी उचित प्रयोजनमा प्रयोग गर्न नसक्नु मुख्य चुनौतीको रुपमा देखापरेको छ । सहकारी उद्देश्यमा आधारित हुनुभन्दा नाफामुखी संस्थाको रुपमा सञ्चालन गर्न खोज्ने प्रवृत्ति यतिबेला घातक देखिएको छ । सहकारीले निर्माण गरेको पुँजी उद्यममा भन्दा घर जग्गा तथा अन्य रियलस्टेटमा लगानी गर्ने प्रवृत्तिले गर्दा आर्थिक मन्दीको समयमा यिनीहरु थप संकटोन्मुख भएका छन् ।
बचत तथा ऋण सहकारी संस्थाहरु संकटमा जानुमा सहकारीको व्यवस्थापकीय जिम्मेवारी लिएका कर्मचारीहरुको भूमिकाले पनि ठूलो समस्या सिर्जना गरिरहेको देखिन्छ । पछिल्लो समय कतिपय सहकारी संस्थाका सञ्चालकहरुले इमान्दार ढंगले संस्था सञ्चालन गरिरहेको भएपनि कर्मचारीले गर्ने गडबढी बेलैमा नियन्त्रण नगर्दा अप्ठ्यारोमा परेका छन् । दैनिक बचतका लागि जम्मा गरेको रकम इन्ट्री नगर्ने, बचतका लागि सहकारीमा जम्मा गरेको रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने, कर्जा लगानी र बचतको किर्ते हिसाब राखेर सहकारी सञ्चालकहरुलाई भ्रममा राखेर सर्वसाधारणले जम्मा गरेको रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने, संस्थाको बही दुरुस्त राख्न हरेक बचतकर्ता र ऋणीहरुको हिसाब रकम फेरबदल गरिदिने जस्ता अपराधिक कामहरु कर्मचारी वा बदमास व्यवस्थापकहरुबाट हुने गरेका छन् । यस्तो व्यवहारले अहिले सहकारी संस्थाहरुको साखमा ठूलो गिरावट आएको छ । जसले देशको अर्थतन्त्रको एउटा पिलर कतै धर्मराउने त होइन भन्ने संशय उत्पन्न गरिदिएको छ ।
आजभोलि धेरै बचत तथा ऋण सहकारी संस्थाहरु बचतकर्ताहरुले एकै पटक बचत रकम फिर्ता माग्ने समस्या व्यहोर्न बाध्य भएका छन् । तीनै गडबड गर्ने केही सहकारीको व्यवहारका कारण नियमसंगत सञ्चालन भइरहेका संस्थाहरु पनि संकटको छायामा परेका हुन् । एउटा सहकारी संस्थाले गडबडी ग¥यो भन्दैमा सबै संस्थाको लगानी जोखिममा छ भन्ने हुँदैन । तर, जसले दुःख गरेर दुईचार पैसा ब्याजको आशामा बचत गरेको हुन्छ उनीहरुले आफ्नो रकमप्रति चिन्ता गर्नु सर्वथा जायज मान्नुपर्छ । तर, संस्था समस्या छ रे भन्ने सुनेकै आधारमा सबै बचतकर्ताहरु एकैपटक आफ्नो बचत फिर्ता माग्न गएको अवस्थामा कुनैपनि वित्तीय संस्थाले रकम फिर्ता गर्न सक्दैन भन्ने तथ्य बिर्सन हुँदैन । त्यस्तो अवस्था जतिसुकै बलियो बैंक वा वित्तीय संस्थाले पनि व्यहोर्न सक्दैन । वित्तीय संस्थाहरुले संकलन गरेको बचत अन्य क्षेत्रमा लगानी गरेका हुन्छन् । बचतकर्ताले चुनौतीको सामना गरेर बैंक वा वित्तीय संस्थामा रकम जम्मा गरेकै कारण ब्याज प्राप्त गर्ने गर्दछन् । त्यस अर्थमा बचत गर्दा पनि बचतकर्ताले सामानय चुनौती लिने आँट गरेको हुन्छ ।
जहाँ राम्रो आय हुन्छ त्यहाँ जोखिम पनि हुन्छ भन्ने कुरा हामी सर्वसाधारणले भुल्नु हुँदैन । उदाहरणका लागि अहिले अमेरिकामा केही बैंकहरु संकटमा परेका छन् । ती बैंकका बचतकर्ताहरु आफूले गरेको लगानीको सुरक्षाका लागि प्रयासरत छन् । यदि ती बैंकहरु साँच्चै टाटपल्टिएको अवस्थामा सबै बचतकर्ताहरुले जम्मा गरेको पूरापुर रकम फिर्ता पाउँछन् भन्ने निश्चितता छैन । हो त्यही जोखिम वहन गरेवापत बचतकर्ताले पनि आकर्षक ब्याज पाउने हो । बैंक तथा वित्तीय संस्थाहरु त कडा नियमनको दायरामा हुन्छन् जसले यस्तो जोखिम कम हुन्छ वा समयमै नियन्त्रणको प्रयत्न हुन्छ । तर हाम्रोजस्तो देशको सहकारी संस्थाहरु जसलाई नियमन र नियन्त्रण गर्ने प्रभावकारी संयन्त्रहरु छैनन् त्यस्ता संस्थाहरुमा बेलबखत यस प्रकारको समस्या आउनु स्वभाविक छ ।
निकर्षमा भन्नुपर्दा अहिले गलत ढंगबाट सञ्चालन भएका सहकारी संस्थाहरुका कारण समस्या आएको हो । सबै सहकारीहरु गलत छैनन् भन्ने कुरा हामीले बुझ्नु पर्छ । सहकारीहरुले उद्देश्यमा आधारित भएर त्यस अनुरुप लगानी गरिरहेका छैनन् त्यसलाई सच्याउन अनिवार्य छ । आकर्षक ब्याज दिने सर्तमा संकलन गरेको पुँजी लगानी नगरी राख्ने कुरा हुँदैन लगानी गर्नुपर्छ । यस्तो अवस्थामा सबै बचतकर्ताहरुले एकैपटक बचत फिर्ता माग्न गएमा कुनैपनि संस्थाले रकम फिर्ता गर्न सक्ने अवस्था हुँदैन भन्ने तथ्य सबैले सहज रुपमा बुझ्नु पर्छ । सँगसँगै बचत तथा ऋण सहकारी संस्थाहरुलाई नियमन र नियन्त्रण गर्ने प्रभावकारी निकाय आवश्यक छ र सकेसम्म यसलाई नेपाल राष्ट्र बैंकले नै नियमन गर्नु सबैभन्दा राम्रो हुनेछ । होइन भने पछिल्ला दिनहरुमा जे देखिदैछ छिटोभन्दा छिटो विद्यमान मनोविज्ञानमा परिवर्तन नल्याउने हो भने सहकारीप्रति निकै ठूलो विश्वासको संकटमात्र आउने सम्भावना छ । यसलाई सहज बनाउन सम्बन्धित क्षेत्र गम्भीर बन्नुपर्छ ।