विराटनगर । विराटनगर १८ नम्बर वडामा आयोजित एक कार्यक्रममा ११ औं स्थानको मर्यादामा रहेका प्रदेशसभा सांसद र महानगरपालिकाको प्रमुखलाई भन्दा १५ औं स्थानमा रहेका नेपाली सेनाका उपरथीलाई प्रमुख अतिथि बनाइएको छ ।
नेपाली सेनाको क्वीक इम्प्याक्ट प्रोजेक्ट कार्यक्रम अन्तर्गत विराटनगर १८ को विराट राजाको दरबार क्षेत्रमा ऐतिहासिक सम्पदा संरक्षण, संबद्र्धन गर्न भन्दै निर्माण गरिएको भवन हस्तान्तरण कार्यक्रममा मर्यादा मिचिएको हो ।

कार्यक्रममा नेपाली सेनाका पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी आशबहादुर तामाङ पिएचडि प्रमुख अतिथि थिए । सोही कार्यक्रममा उपस्थित मोरङ क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित प्रदेश सांसद अमृत अर्याल र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला विशिष्ट अतिथि तथा उपप्रमुख शिल्पा निराला कार्कीलगायत विशेष अतिथि बनेका थिए ।

नेपाल सरकार गृहमन्त्रालयले २०७६ साल वैशाख १६ गते राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार उपरथीको बरियता १५ औं नम्बरमा छ । प्रदेशसभा सदस्य र काठमाडौं बाहेकका महानगरपालिकाका प्रमुखको बरियता ११ औं नम्बरमा छ । काठमाडौं बाहेकका महानगरपालिकाको उपप्रमुखको बरियता १३ औं नम्बरमा छ । ११ औं नम्बरको बरियतामा प्रदेश सरकारका सहायक मन्त्री, प्रदेशसभाका सचेतक, प्रदेशसभाका सदस्य, महानगरपालिकाका प्रमुख (काठमाडौं महानगरपालिका बाहेक), जिल्ला समन्वय समितिका प्रमुखहरु रहने व्यवस्था छ ।

उता, १५ औं नम्बरको मर्यादाक्रममा भने प्रदेश लोकसेवा आयोगका अध्यक्ष, नगरपालिकाका प्रमुख, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, प्रदेश लोक सेवा आयोगका सदस्यहरू रहने उल्लेख छ ।

तर, कार्यक्रममा नेपाली सेनाले बनाएको तालिकामै प्रमुख अतिथिको रुपमा पृतनापति उपरथी तामाङ पहिलो नम्बरमा छन् । यस्तै दोस्रो नम्बरमा सांसद अर्याल, तेस्रो नम्बरमा महानगरपालिकाका प्रमुख कोइराला र चौथो नम्बरमा उपमहानगरकी उपप्रमुख कार्की रहेकी छिन् ।
कार्यक्रमको मन्तव्यका क्रममा पनि अन्तिममा पृतनापति उपरथी तामाङले सम्बोधन गरेका थिए । कार्यक्रममा मर्यादाक्रममा माथि रहेकालाई प्रमुख अतिथि बनाउने र उसैले कार्यक्रम समापन गर्नु अगाडिको विशेष सम्बोधन गर्ने प्रचलन छ । कार्यक्रममा सांसद अर्यालले भने मन्तव्य राखेनन् । महानगरका प्रमुख कोइरालाले मन्तव्य राखे भने उपप्रमुख कार्कीले पनि मन्तव्य राखिनन् ।

सेनाद्वारा १९ लाखको भवन हस्तान्तरण

यसैबीच नेपाल सेनाको भैरव गणले ऐतिहासिक सम्पदालाई संरक्षण, सम्बद्र्धन तथा जगेर्ना गर्ने उद्देश्यका साथ प्राचिन विराट राजा दरबार संग्रहालयको भवन निर्माण गरेर महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

उक्त भवन २०७९ कार्तिक २१ गतेबाट सुरु भएर चार महिनामै निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागि १९ लाख ७५ हजार ६६३ रुपैयाँमा नवदुर्गा सप्लार्यले सामान खरिद गर्ने सम्झौता गरेको थियो भने निर्माणको काम नेपाली सेना आफैंले गरेको हो ।

भवन हस्तान्तरण कार्यक्रममा सांसद अर्याल, महानगरपालिकाका प्रमुख तथा उपप्रमुख अर्याल तथा कार्की, उपरथी तामाङ, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख तीर्थराज भट्टराई, भैरव गणका गणपति अमृत थापा मगर, विराट राजा प्राचिन दरबार खोज तथा संरक्षण समितिका अध्यक्ष कमल किशोर यादव, वडा नम्बर १८ का वडाध्यक्ष जितेन्द्रकुमार साहलगायतको उपस्थिति थियो ।

भवनलाई उपरथी तामाङले विराटनगर महानगरपालिकाका प्रमुख कोइराला तथा विराट राजा प्राचित दरबार खोज तथा संरक्षण समितिका संयोजक यादवलाई चावी दिएर भवन हस्तान्तरण गरेका थिए भने त्यसअगाडि भवनको उपरथी तामाङले उद्घाटन गरेका थिए ।

विराट राजा दरबार स्थलको ऐतिहासिकता

महाभारत कालमा करिब ८ विगाहा ३ कठ्ठा १७ धुरमा फैलिएको उक्त स्थान भेडियारी राजा विराटको राजधानी रहेको दाबी गरिन्छ । उक्त स्थानलाई मत्सेय देशको नामले समेत चिनिने गरेको छ । यहाँ महाभारत कालमा पाँच पाण्डप र उनीहरुको पत्नी द्रौपति गुप्तबासको बेना नाम परिवर्तन गरी राजा विराटको दरबारमा लुकेर बसेको किंवदन्ती रहेको छ ।

स्थानीयले संरक्षण गर्दै आइरहेको उक्त स्थानमा २०२७ सालमा नेपाल सरकारको पुरातत्व विभागले उत्खनन गरेको थियो । त्यसबेला प्राचिन कालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको मुद्रा ४० वटा भेटिएको थियो । त्यसपछि यो क्षेत्र प्राचिन महाभारतकालमा विराट राज्यको राज दरबार भएको तथ्य पत्ता लागेको थियो । सोही कुरालाई मध्यनजर गर्दै प्राचिन राजा विराट दरबार संगहालय भवन निर्माण गरेको नेपाली सेनाले दाबी गरेको छ । यसअघि उक्त क्षेत्रमा सामान्य घेराबारा बाहेक कुनै पनि ठूला संरचनाहरु निर्माण गरिएका छैनन् ।