विराटनगर । कोशी रिफ्रेसमेन्ट सेन्टरको अलग्गै कार्यालय फेरि स्थापना हुने भएको छ । एक वर्ष अगाडि खारेज गरेको सेन्टर परियोजना हेर्ने कार्यालय कोशी प्रदेश सरकारले एक महिना भत्रमा स्थापना गरी संचालनमा ल्याउने भएको छ ।

सरकारले प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको सेन्टर हेर्ने गरी स्थापना भएको परियोजना हेर्ने कार्यालय चैत महिनाभित्रमा स्थापना गरी संचालनमा ल्याउने भएको हो । गौरवको आयोजना हेर्ने कार्यालय छुट्टै नहुँदा काममा कठिनाइ भएको भन्दै प्रदेश सरकाले चाँडै पुरानो कार्यालय स्थापना गरी संचालनमा ल्याउने गृहकार्य पनि सुरु गरेको छ ।

२२ बिघा क्षेत्रफलमा २ अर्ब ८ करोड रुपैयाँ लागतमा कोशी रिफ्रेसमेन्ट सेन्टर बनाउन २०७५ माघ २४ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए । शिलान्यास गरेको दुई वर्षपछि २०७७ पुस १० गते परियोजना हेर्नको लागि सुनसरीमा कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजना कार्यालय स्थापना गरिएको थियो । ९ औं तहको आयोजना प्रमुखसहित १० जनाको दरबन्दी कायम गरी कार्यालय स्थापना गरिएको थियो । राजेन्द्र राई मुख्यमन्त्री भएर आएपछि २०७८ चैत २४ गते परियोजना खारेज गरेको थियो । उक्त परियोजना खारेज गरेर रिफ्रेसमेन्ट सेन्टर हेर्ने जिम्मा शहरी विकास तथा भवन कार्यालय मोरङलाई २०७९ वैशाख १५ गतेदेखि दिइएको थियो ।

परियोजना हेर्ने कार्यालय खारेज गरी भवन कार्यालयलाई दिएपछि बजेट अभावका कारण प्रदेश गौरवको आयोजना अलपत्र परेको थियो । आयोजनाका लागि प्रदेश सरकारले पर्याप्त मात्रामा बजेटको व्यवस्था नगरेपछि अलपत्र बन्न पुगेको कोशी रिफ्रेसमेन्ट सेन्टरको अनुगमन र निरीक्षण शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाइँले गरे । प्रदेश सरकारको गौरवको परियोजनाको निरीक्षण गरेपछि मुख्यमन्त्री कार्कीले दुई वर्षभित्रमा कोशी रिफ्रेसमेन्ट सेन्टर संचालनमा आउने गरी काम गर्नुपर्ने बताए ।

‘अबको १५ दिनभित्रमा परियोजना रिभ्यू गरी कुन मोडालिटीमा काम गर्न सकिन्छ, त्यसको खाका तयारी प्रदेश सरकारले गर्नेछ,’ मुख्यमन्त्री कार्कीले भने, ‘चैत २० गतेभित्रमा सरोकारवालहरूको भेला बोलाएर अधुरो रहेको परियोजनाको काम अगाडि बढाउनेछ ।’ त्यसको लागि भौतिक पूर्वाधार मन्त्रालयले काम थाल्ने मुख्यमन्त्री कार्कीले बताए ।

खारेज गरेको कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको कार्यालय एक महिनाभित्रमा स्थापना गर्ने गरी काम गर्न भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईले निर्देशन दिए । उनले मन्त्रालयको सचिव मोहनराज चापागाइँको नेतृत्वमा परियोजना हेर्ने कार्यालय स्थापना गरी काम गर्न निर्देशन दिएका छन् ।

कोशी रिफ्रेसमेन्ट सेन्टरको निर्माण गर्ने ठेक्का कविन्द्र÷ नव सृजनशील जेभी किर्तिपुरले पाएको छ । निर्माण सुरु भएको दुई वर्षमा भौतिक प्रगति ६० प्रतिशत भएको शहरी विकास तथा भवन कार्यालय मोरङका कार्यालय प्रमुख रुद्रनारायण मिश्रले बताए । जग्गा अधिग्रहणसमेत सकेर संरचना निर्माणको काम ६० प्रतिशत पूरा भएको उनले बताए । २२ बिघा क्षेत्रफलमा बन्न लागेको कोशी रिफ्रेसमेन्ट सेन्टर दुई चरणमा निर्माण हुनेछ । पहिलो चरण अन्तर्गत अहिलेसम्म ११ करोड ३४ लाख ४४ हजार ६७९ रुपैयाँ खर्च भएको उनले बताए । सेन्टरमा थकाली खाना घर, हेल्थपोस्ट, प्रशासनिक भवन, प्रहरी चौकी, पर्खाल, गेटलगायतको काम भएको प्रमुख मिश्रले बताए । योजनाको कूल लागतको २५ प्रतिशत मात्र बजेट प्रथम चरणमा राखिएकोले डिपिआर अनुरुप कोशी रिफ्रेसमेन्ट सेन्टरको मुहार फेर्न कठिनाइ भएको बताए । केही क्षेत्रमा अहिले पनि जग्गा अधिग्रहण र मुआब्जा बाँकी रहेकोले काममा अवरोध हुनसक्ने उनले बताए ।

रिफ्रेसमेन्ट सेन्टर परियोजना अन्तर्गत कोशी कटानमा सुविधा सम्पन्न होटल, ७ तले कम्प्लेक्स, हेल्थपोस्ट भवन, पेट्रोल पम्प, बसपार्क, भ्यू टावर, स्विमिङ पुल, सिनेमा हल र लिफ्टसहितको आकाशे पुल लगायतका संरचना निर्माण गरिनेछ ।