विराटनगर ।‘चुनौती छ तर यसो भन्दै गर्दा पछाडि धकेलिनु हामीलाई छुट पनि त छैन ।’ आशिका लम्साल एकै स्वासमा सुनाउछिन् । उनी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा महेन्द्र मोरङ क्याम्पस अखिल क्रान्तिकारीको तर्फबाट सचिव पदको उम्मेदवार हुन् ।

स्ववियु निर्वाचनले झपक्कै छोपेको महेन्द्र मोरङ क्याम्पस परिसर वरिपरि भेटिने आशिकालाई आरामले गफिने र बस्ने छुट छैन ।
यद्यपि एकैछिन फुर्सद मिलाएर गफिन भ्याएकी उनी महिलालाई नेतृत्व पंक्तिमा उभिन निक्कै चुनौती बेहोनुपर्ने सुनाउछिन् ।

महेन्द्र मोरङ क्याम्पसमा स्नातोकत्तरमा अध्यनरत २३ वर्षे आशिका अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटी संयोजक रहेर चार वर्षदेखि कार्यभार सम्हाल्दै आइरहेकी छन् । सुरुवातका दिनमा क्याम्पस कमिटीको संयोजकमा उभिँदै गर्दा आफूसँगै सहयात्रा गरेका साथीभाईहरुकै सल्लाहमा बढेको बताउँछिन् । उनी नेतृत्वदायी भूमिकामा रहेर सबैलाई समेट्दै अगाडि बढ्न खप्पिस रहेकी छिन् ।

‘म क्याम्पस कमिटी संयोजक हुँदै गर्दा महिला भएकै कारणले नेतृत्वमा आफूलाई उभ्याउन निक्कै सकस परेको थियो,’उनी सुनाउछिन्, ‘मलाई यो सबै खालको परिस्थिति बुझेर सबैलाई समेट्दै अगाडि बढ्न झण्डै दुई वर्ष लागेको थियो ।’ स्कुल पढ्दा स्काउटले ‘लिडर’ बन्छु भन्ने आँट भरिदिएको बताउने उनी यसमा थप उर्जा बुवा गणेश लम्सालले दिएको सुनाउछिन् ।

‘बाल्यकालदेखि नै राजनीति र समाजलाई बुझ्न जरुरी रहेको भन्दै बुबाले आँट भर्दिनुहुन्थ्यो, हामी सानो छँदा विभिन्न खाल्का पुस्तकहरु किनेर ल्याइदिनुुहुन्थ्यो, उनी सुनाउछिन्, ‘मलाई राजनीति, समाजसँगै नेतृत्व पंक्तिमा उभिन सँधै हौसला र आँट बनेर मेरो बुवाले उभिदिनुभयो ।’
विद्यालयको सानो स्कुल कमिटी हुँदै क्याम्पस कमिटीको संयोजकसम्म आइपुग्दा उनले धेरै राजनीतिक उत्तरचढाव भोगेकी छन् । आफू अगाडिका पुस्ताहरुको राजनीतिक आन्दोलनलाई देखेकी छन् ।

आन्दोलनबाट देशमा ठूलाठूला परिवर्तन भएको पनि उनले देखेकी छन् । विगतका राजनीतिक आन्दोलनबाट आएको वृहत परिवर्तनले अब आउने पुस्ताले आन्दोलन गर्न पर्दैन होला भन्ने सोच उनको मानसिकतामा नआएको पनि होइन । तर, राजनीतिक अवस्थामा कुनै परिवर्तन नभएको सुनाउने उनी अझै पनि आन्दोलनका लागि सडकमा उभिने बाध्यता रहेको बताउँछिन् ।

बेथिति हटाउने सपना

महेन्द्र मोरङ क्याम्पस आफैमा एउटा इतिहास बोकेको शिक्षालय हो । देशको शीर्ष नेताहरु जन्माएको यो क्याम्पसभित्रको अवस्था भने थलिएको छ । देशको राष्ट्रपति विद्यादेवी भण्डारी प्रदेशमा सांसद पूर्वमन्त्री समेतको राजनीतिक इतिहास बोकेको छ महेन्द्र मोरङ क्याम्पसले । तर, यही क्याम्पसका समस्या ज्यँुकात्युँ छन् । विद्यार्थीको सामान्य समस्या समेत क्याम्पस प्रशासनले सुल्झाउन नसकेको आशिका सुनाउछिन् । क्याम्पसमा हुने विकृति विसंगतिको अन्त्य गर्ने सपना बोकेर राजनीतिक धार समाएको बताउने उनी स्ववियु निर्वाचन सफलताका साथ सम्पन्न भए आफूले देखेको सपना पूरा गर्न सकिने दाबी गर्छिन् ।

‘महेन्द्र मोरङ क्याम्पस राजनीतिक भागबण्डा लगाउने थलो झैँ भएको छ, कुन प्राध्यापकले के जिम्मा पाउने कुन कर्मचारीले के, यस्तो अवस्थामा क्याम्पस कसरी सुध्रिन्छ,’ उनी सुनाउछिन्, ‘यस्तै विसंगतिको चाङको अन्त्य गर्न स्ववियु निर्वाचन हुनु आवश्यक छ, र यस्तो विकृति हटाउने मेरो सपना बोकेर म राजनीतिमा आएकी हुँ ।’