रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सार्वजनिक रुपमा व्यक्त भइरहेका अपेक्षाहरुले पनि देखाउँछन्, उनीप्रति मुलुकको ठूलो पंक्ति आशावादी छ । नेपाली काँग्रेसको नेताका रुपमा होस् वा यसबीचमा उनले निर्वाह गरेका भूमिकाहरुको आधारमा पौडेलप्रति यो आशा अभिव्यक्त भएको हो । त्यसो त बिदा हुनै लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीको विवादास्पद गतिविधिले पनि नयाँ राष्ट्रपतिप्रति आशाहरु स्वाभाविक रुपमा बढेका हुन् । खासगरी नवनिर्वाचित राष्ट्रपति पौडेलको सादगी छवि, नेपालको लोकतान्त्रिक आन्दोलनप्रतिको अटुट निष्ठा र इमान्दारीलगायतका गुणहरुले उनीप्रतिको अपेक्षा बढी भएको हो । यी अपेक्षामा उनले आफूलाई कति खरो उतार्छन् भन्ने कुराले उनको नयाँ भूमिकाको सफलता –असफलता निर्धारण गर्नेछ ।

निश्चय नै नेपालको राष्ट्रपति पद कार्यकारी होइन । नेपालको संविधानले ‘राष्ट्राध्यक्ष’ भनेको यो पद मुख्यतः आलांकारिक हो । यद्यपि यही पदमा रहेका पात्रलाई अघि सारेर मुलुकका कार्यकारी प्रमुख र राजनीतिक खेलाडीहरुले आफ्नो स्वार्थ अनुकूल काम गरेको नजिर दुःखद् रुपमा स्थापित भएको छ । रामवरण यादवको बेला सेनापतिको थमौती प्रकरण होस् अथवा विद्यादेवी भण्डारीको पालामा भएको दुई पटकको संसद् विघटन र नागरिकता विधेयक अड्काउने काम नै किन नहोस्, राष्ट्रपति पद राजनीतिक रणनीति पूरा गर्न आवश्यक पर्ने पद सावित भयो । यसपटक राष्ट्रपति चुनावका बेला भएको राजनीतिक उछलकुदले त्यही दर्शायो । यद्यपि लामो राजनीतिक अनुभवले खारिएका पौडेलले राष्ट्रप्रमुख पदको संवैधानिक गरिमा कायम राख्ने सवालमा इमान्दारी देखाउने आशा सबैले गरेका छन् । यसमा उनले आफूलाई प्रमाणित गर्नुपर्नेछ ।

अहिले सबैतिरबाट अभिव्यक्त नागरिक अपेक्षाबारे नवनिर्वाचित राष्ट्रपति पौडेल पक्कै जानकार छन् । जनताले राजाजस्तो राष्ट्रपति नभई नागरिक राष्ट्राध्यक्षको रुपमा उनलाई देख्न चाहेका छन् । नेपालको संविधानले राष्ट्रपति पदलाई नेपालको राष्ट्राध्यक्ष भनेर परिभाषित गरेको छ । संगै राष्ट्रपतिमा संविधानको पालना र संरक्षण गर्ने संवैधानिक अभिभारा पनि रहेको छ । नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन । यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक–राष्ट्राध्यक्षको चाहना हो । पौडेललाई जनताले राष्ट्रपति राजाजस्तो होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्न चाहेका छन् ।

नेपालको संविधानको परिकल्पना गल्ती नगर्ने राष्ट्रपति हो । किनभने राष्ट्रपतिले आफ्नो मनोमानीले केही पनि गर्दैन र गल्ती पनि गर्दैन । संविधानको पालना, संरक्षण र प्रवर्द्धन गर्ने नाममा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस वा सम्मतिमा कार्य गर्ने कुरा संविधानको मर्म हो । हरेक निर्णयको सिफारिस गर्ने सरकारले नै त्यसको जिम्मेवारी लिनुपर्ने मान्यता राखिएको छ । यसअघिका राष्ट्रपतिहरु विवादमा आउनुको मुख्य कारण कम्तीमा यी संवैधानिक प्रावधानहरुको उचित ख्याल नगर्नु हो । मन्त्रीपरिषदले पारित गरेर पठाएको नागरिकता विधेयक रोक्ने राष्ट्रपति भण्डारीको कदम विवादित हुनुको मुख्य कारण यही हो । नवनिर्वाचित राष्ट्रपति पौडेलले यसबारे आफूलाई पक्कै सजग तुल्याउलान् भन्ने अपेक्षा सर्वत्र छ ।

सक्रिय रुपमा लामो समय राजनीतिक गतिविधिमा आवद्ध पौडेलको अर्को चुनौती आफूलाई दल निरपेक्ष राख्न सक्नु पनि हो । विगतमा रामवरण यादवले काँग्रेसको जिल्ला अधिवेशनमा शितलनिवासबाटै खेलेको र भण्डारीले नेकपाको आन्तरिक विवादमा हात हालेको आरोप लागेको थियो । पौडेल जतिको अनुभवी नेताले अब बुझ्नुपर्छ , उनी हिजोसम्म कांग्रेसको सदस्य थिए । , एउटा राजनीतिक विचारसँग आवद्ध थिए । स्वभाविक रुपमा त्यसैप्रति उनको लगाव र मिहिनेत थियो । तर, अब उनी मन, वचन र कर्मले योसँग अलग हुनुपर्छ । अब उनी केवल एक दलको मात्र होइन सबैको अभिभावक हो । सँगै दलीय राजनीति, दलभित्रको राजनीति, दलहरूका बीचमा र दलभित्र हुने शक्ति संघर्ष वा अभ्यासबाट मुक्त हुने राजनीतिक चरित्र र क्षमता प्रदर्शन गर्नुपर्नेछ । र, नयाँ राष्ट्रपतिसँग जनताले गरेको अर्को सबैभन्दा ठूलो अपेक्षा भनेको ‘सवारी आतंक’ बन्द होस् भन्ने छ । राष्ट्रपतिको सम्मानमा सवारीको नाममा सडक खाली गराउँदा नागरिकलाई घण्टौंसम्म हिँड्डुल गर्न नदिने गरिएको घटनाले धेरैलाई राजा सम्झाएको थियो । त्यस्तो अनावश्यक तडक भडक नगर्नु पनि नयाँ राष्ट्रपतिको दायित्व हुनेछ ।