विराटनगर । नेपाल प्रहरीका रिक्त पाँच एआईजीमा शुक्रबार बढुवा सिफारिस भएको छ । बढुवा समितिले सिफारिस निकालेको हो ।
पहिलो नम्बरमा डिआईजी वसन्त कुँवरको नाम छ । यसअघि डीआईजीमा पनि उनी नै पहिलो नम्बरमा थिए ।
दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्यको नाम सिफारिस भएको छ । गत असारमा भएको डिआईजी बढुवामा दोस्रोमा राई, चौथोमा थापा, पाँचौमा ज्ञवाली र छैटौंमा बज्राचार्य थिए ।
तेस्रो नम्बरमा रहेका अशोक सिंहले राजीनामा दिएपछि पछाडि रहेका एक–एक स्थान उक्लिएका छन् । बढुवा समितिको सिफारिसविरुद्ध उजुरी नपरे एक सातापछि सरकारले उनीहरूलाई एआईजीमा बढुवा गर्नेछ ।
एआईजीमा बढुवा हुने यीमध्येबाट एकजनाले आगामी चैत १० गतेदेखि नेपाल प्रहरीको नेतृत्व गर्नेछन् । प्रहरीमा गत साउनदेखि एआईजी रिक्त रहेपनि पदपूर्तिका लागि सिफारिस हुन सकेको थिएन ।
राष्ट्रपतिको निर्वाचनअघि आचारसहिंता लाग्ने भएपछि गृह मन्त्रालयले बढुवाका लागि अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो। आयोगले अनुमति दिएसँगै बढुवा सिफारिस गरिएको हो।
हालका आईजीपी धिरजप्रताप सिंह र बाँकी ३ एआईजी चैत ११ गतेदेखि अनिवार्य अवकासमा जाने भएपछि अहिले बढुवा भएकामध्येबाट नयाँ आईजीपी बन्नेछन् । एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी चैत ११ गतेदेखि अवकासमा जानेछन् ।