विराटनगर । संसदीय निर्वाचनमा कहिल्यै हारको स्वाद नचाखेका सुवास नेम्वाङ सेरेमोनियल पदमा भने पराजित। बनेका छन । राष्ट्रियसभा अध्यक्ष हुँदै सभामुखसमेत भइसकेका नेम्वाङले राष्ट्रपतिको चुनावमा रामचन्द्र पौडेलसँग पराजित हुनु परेको छ ।
उनी २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको अध्यक्ष भएका थिए। इलाममा २०५१ सालदेखि लगातार चुनाव जितेर सांसद भएका थिए उनी । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भएका उनी नेपाल बार एसोशिएशनको महासचिवसमेत भएका थिए। निर्वाचन बाटै बार एसोशिएशनको महासचिव बनेका हुन ।
२०२९ सालमा अनेरास्ववियुको अध्यक्ष भएका उनले संसदीय चुनावमा मात्रै होइन, पार्टीभित्र हुने प्रतिस्पर्धामा समेत हारेका थिएनन्।
०६४ सालको संविधानसभा निर्वाचन, ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम क्षेत्र नम्बर २ निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए ।
उनी ०७४ को संसदीय निर्वाचनमा माओवादी र एमालेबीच भएको गठबन्धनबाट विजयी बनेका थिए । तर सेरेमोनियल पदमा गठबन्धन टुट्दा उनले हार बेहोरर्नुपरेको छ ।
इलाम क्याम्पसको स्ववियु सभापतिदेखि हालसम्म पार्टीभित्र भएका आन्तरिक तथा संसदीय चुनावमा उनले हार बेहोरेका थिएनन्।
स्थानीय तह २०७९ को मत परिणामअनुसार नेम्वाङको क्षेत्रमा वडाध्यक्षहरूले प्राप्त गरेको मत हेर्दा एमालेको ३२ हजार ५२७ मत थियो ।गठबन्धन दलहरू कांग्रेस, माओवादी, नेकपा एस र जसपाको मत जोड्दा ३६ हजार ५६२ मत थियो । संसदीय चुनावमा जसपाबाहेक अन्य दल एकै ठाउँमा थिए । तर, आफ्नो राष्ट्रिय छवि र एमालेको बलियो संगठनका कारण उनले चुनाव जितेका थिए ।
चौथो राष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनलाई रामचन्द्र पौडेलले हराए। पार्टीभित्रको आन्तरिक चुनाव जित्न मुस्किल पर्ने रामचन्द्रले हार्नै नजानेका नेम्वाङलाई हराए।

