विराटनगर । नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई दोब्बरभन्दा बढि मतान्तरले पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत प्राप्त गरे । उनको मतभार ३३ हजार ८०२ भएको छ ।  एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।

निर्वाचनमा ८८४ मतदाता रहेकोमा ८३१ मत खसेको थियो । संघीय संसदका ३१३ र प्रदेशका ५१८ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचनमा पार्टीले संस्थागत निर्णय गरेरै राप्रपाका १४ र नेमकिपाका १ गरी १५ सांसद तटस्थ रहेका थिए । बिरामी भएर चन्द्र भण्डारी र बर्षमान पुन देशबाहिर रहेकोले निर्वाचनमा सहभागी भएनन् ।

यस्तै, एक जना निलम्बित र एकजना सांसद फरार सूचीमा रहेकाले मतदानमा सहभागी भएनन् । रवि लामिछाने पदमुक्त भएपछि संसदको एक पद रिक्त छ भने जसपाकी एक सांसदको मृत्यु भएको कारण पद रिक्त छ । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित थिइन् ।

राष्ट्रपति निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

को हुन् पौडेल ?
पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बने । २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिएपनि जित हासिल गर्न नसकेका पौडेल नौ दलीय सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपछि पहिलो प्रयासमै राष्ट्रपति बन्न सफल भए ।

काठमाडौंको बोहोराटार बस्दै आएका पौडेलको जन्मथलो तनहु हो । उनी २००० असोज २९ गते तनहुँको व्यास नगरपालिकामा बाबु दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको कोखबाट जन्मिएका थिए । उनका श्रीमती सविता पौडेल, एक छोरा र ४ छोरी छन् ।

संस्कृतमा शास्त्री र नेपालीमा एमए गरेका पौडेल तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा गत मंसिर ४ गते भएको निर्वाचनामा निर्वाचित भएका थिए । उनी २०७४ को निर्वाचन बाहेक यसअघि भएका सबै निर्वाचनमा तनहुँबाट निर्वाचित भएका थिए ।

नवनिर्वाचित राष्ट्रपति पौडेल २०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेका थिए । २०१७ सालमा राजाले संसद् भङ्ग गरी वीपीलाई जेल हालेको विरोधमा उनी प्रजातान्त्रिक आन्दोलनमा सहभागी भए । र त्यसपछि सक्रिय राजनीतिमा अघि बढे ।

२०२७ सालमा नेविसंघको संस्थापक सदस्य बनेका पौडेल २०३४ सालबाट आफ्नै जिल्ला तनहुँबाट जिल्ला सदस्य भएर मूल पार्टी नेपाली कांग्रेसमा सक्रिय भए । २०४३ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हुँदै निरन्तर केन्द्रीय सदस्य रहेका पौडेल २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापति बने ।

२०४८ सालपछि भएका ७ वटा संसदीय चुनावमध्ये २०७४ सालको बाहेक अन्य सबै निर्वाचतमा उनले तनहुँबाट जित हात पारेका थिए । २०५१ सालमा प्रतिनिधि सभाको सभामुख बनेका पौडेल २०६५ मा कांग्रेस संसदीय दलको नेता बने र विपक्षी दलको नेताको भूमिका निर्वाह गरे । २०४८ सालमा पहिलोपटक स्थानीय विकास मन्त्री बनेका पौडेल, २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधानमन्त्रीसहित सूचना/सञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्री बने । २०६३ माओवादी शान्तिप्रक्रियामा आएपछि उनी शान्ति तथा पुनःनिर्माण मन्त्री बने ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार र १५ वर्ष जेल जीवन बिताएका पौडेल २०७९ फागुन २५ गते बिहीबार भएको चुनावबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् ।