प्रदेश सरकारले सञ्चालन गरेका धेरै आयोजनाहरु समयमै सम्पन्न भएका छन् । सरकारले सञ्चालन गरेका आयोजनाहरुको निर्माण समयमै नसकिने, लामो समयसम्म अलपत्र बन्ने, ठेकेदार कम्पनी भाग्नुपर्ने अवस्था आउँदा जनताले सास्ती भोग्नुपर्ने जस्ता समस्याहरुमा आम नागरिक अभ्यस्तझैं भएका छन् । यस्तो बेथितिका बीचमा कोशी प्रदेश सरकारले सञ्चालन गरेका धेरै आयोजनाहरु समयमै सम्पन्न हुनु सकारात्मक छ ।
ठेक्का सम्झौता भएको समयभित्रै आयोजना सम्पन्न हुँदा सरकारको आयोजना सञ्चालन लागत कम हुनगई सरकारलाई फाइदा पुग्छ भने जनताले पनि लक्षित समयभित्रै विकासको लाभ प्राप्त गरि सरकारप्रति सकारात्मक विश्वास पैदा गर्छ । यसले सरकारको कार्यसम्पादनको पनि उचित मूल्यांकन गर्ने वातावरण तयार पार्न सहयोग गर्छ ।
प्रदेश सरकारले सञ्चालन गरेका धेरै योजनाहरु सम्पन्न हुनुको कारणहरुमध्ये न्यून दररेटमा ठेक्का लिने प्रवृत्तिलाई निरुत्साहित गर्न सक्नु एउटा महत्वपूर्ण कारण हो । जतिपनि योजनाहरु तोकिएको समयभित्रै वा तोकिएको समयमा थोरै अवधि थपिएर सम्पन्न भएका छन् ती योजनाहरुको ठेक्का स्टिमेट रकम हाराहारीमै लागेको छ । यसले के प्रष्ट पार्छ भने प्रतिस्पर्धाको नाममा न्यून मूल्यमा ठेक्का लिने प्रवृत्तिलाई निरुत्साहित गर्न सक्दा सरकारका आयोजनाहरु समयमै सम्पन्न हुनेछन् र गुणस्तरमा पनि अभिवृद्धि हुनेछ । कोशी प्रदेश सरकारले निर्माण गरेका सडक आयोजनाहरुको गुणस्तर अन्य सडकको तुलनामा बलियो देखिएको छ ।
यसका अतिरिक्त प्रदेश सरकारले निर्माण गरिरहेका केही आयोजनाहरुको प्रगतिभने निकै सुस्त देखिएको छ । धेरै आयोजनाहरुले सकारात्मक प्रगति हासिल गरिरहेको भएपनि केही आयोजनाहरु अलपत्र झैं बनेको र तीन वर्षदेखि निर्माण सम्पन्न नभइरहेको पाइएको छ । यसले प्रदेश सरकारले छोटो समयमा बनाएको छवी धूमिल्याउन सक्ने तर्फ सरकार सजग रहनुपर्छ । प्रदेश सरकारबाट सञ्चालित ७० प्रतिशत आयोजनाहरुको प्रगति सकारात्मक भएपनि ३० प्रतिशत आयोजनाहरु सुस्त ढंगबाट सञ्चालन भइरहेका छन् ।
सरकारले ती आयोजनाहरुमा ढिलाइ हुनुको कारण खोजी गर्दै समस्या समाधान गर्ने तर्फ चासो दिनुपर्छ । त्यसमा रहेको अप्ठ्याराहरु फुकाउने, अनुगमनलाई अझ नियमित गर्ने र ठेकेदार कम्पनीहरुलाई थप जिम्मेवार र जवाफदेहि बनाउने तर्फ ध्यान दिन जरुरी छ । पछिल्लो समय प्रदेश सरकारसँग सञ्चालनमा रहेका बहुवर्षे आयोजनाहरुलाई भुक्तानी दिन बजेटको खासै अभाव छैन । विगत दुई वर्ष बजेटको अभाव झेलेको प्रदेश सरकारले गतवर्षदेखि सन्तुलन बनाउँदै आएका कारण आयोजनाहरु रोक्नु पर्ने, त्यसमा ढिलाइ गर्नुपर्ने अवस्था नरहेकोले योजनाहरु समयमै सम्पन्न गर्ने तर्फ ध्यान दिन आवश्यक छ । आयोजनाहरु सम्पन्न हुने अवधि अनावश्यक रुपमा लम्बिदा ओभरहेड लागत बढ्न जाने र जनताले तिरेको करबाट विकास हुनुको साटो एउटै आयोजनामा करोडौं बढी खर्च गर्नुपर्ने बाध्यता हुने भएकोले त्यस्तो अवस्था सरकारले आउन दिनु हुँदैन ।
समयमा काम सम्पन्न गर्ने ठेकेदार कम्पनीहरुलाई पुरस्कार प्रदान गर्ने संस्कृतिको औपचारिक सुरुवात गर्ने र ढिलासुस्ती गर्ने, सरकारलाई नटेर्ने जस्ता प्रवृत्तिका विरुद्ध दण्डित गर्ने कार्यलाई पनि सँगसँगै अगाडि बढाउने हो भने सरकारका हरेक आयोजनाहरु समयमै सम्पन्न हुने छन् । यस तर्फ सरकारले आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ र अलपत्र परेका आयोजनाहरुलाई छिटोभन्दा छिटो गति दिएर सम्पन्न गराउने तर्फ लाग्नुपर्छ ।

