धरान ।सुनसरीको धरानका नागरिकको प्यास मेटाउन सक्रिय रहेको बताउँदै आएका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ निरन्तर खोला धाइरहेका छन् ।
सुक्खा मौषममा धरानको सहरी क्षेत्रमा खानेपानी अभाव हुने हुने गरेको छ । सहरी क्षेत्रमा पिउने पानीको अभाव भइरहँदा धरानकै वडा नं. २० स्थित हात्तिसार क्षेत्रमा कोकाह खोलामा भने पानी बगेर खेर गइरहेको छ ।

विष्णुपाउ मन्दिर शिरानमा मुहान भएको कोकाह खोलाको पानी बीचमा आएर बग्न छोड्छ । तर, भञ्ज्याङदेखि पश्चिम हात्तिसार क्षेत्रमा पुगेपछि भने पानी उम्रिन थाल्छ । त्यहाँबाट उम्रिएको पानीले खोलाको रुप लिएर बगिरहेको छ ।

बगेर खेर गइरहेको कोकाहको सोही पानीलाई पाइपमार्फत सुम्निमा सिस्टममा जोड्ने गरि श्रमअभियान मेयर हर्क साम्पाङले उद्घाटन गरेका छन् । पाइप बोकेर इन्टेक हुने ठाउँसम्म पुगेका मेयर साम्पाङले सिमेभुमे पुजा गरेर खोलामा पाइप जोडेका थिए । सो ठाउँबाट धरानसम्म करिब २५ किलोमिटर पाइप आवश्यक पर्छ ।

पानी जडानको लागि ३ करोड हाराहारीमा बजेटको पाइप आवश्यक पर्ने अनुमान गरिएको मेयर साम्पाङले बताएका छन् । सो अभियानको लागि सांगीतिक कार्यक्रम गरिदिन उनले कलाकारहरुलाई आग्रह गर्दै सहयोगको पनि अपिल गरेका छन् ।

कोकाहको पानी धरान पुर्याउँदा धेरै राहत मिल्ने भएपनि पूर्ण समाधान भने नभएको मेयर साम्पाङले बताए । दीर्घकालिन समाधानको लागि भने धरानमा कोशीको पानी नै ल्याउनुपर्ने उनको भनाइ छ ।

वडा २० का वडाअध्यक्ष पदम लिम्बुका अनुसार कोकाहामा चैत, वैशाख, जेठमा पनि पानी सुक्दैन । अहिले सो वडामा कोकाहकै पानी उपभोग भइरहेको छ ।

धरानको खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले ग्राभिटी फ्लोमा नै सहरसम्म कोकाहको पानी ल्याउने योजना शुरु भएको बताए । पानी ल्याउन सकेमा माघ, फागुन, चैत, वैशाखमा उपभोक्तालाई आनन्दले सेवा दिन सकिने उनको भनाइ छ ।

मेयर साम्पाङले यसअघि पकुवा खोलाबाट पहिलो श्रमअभियान चलाएर पानी ल्याएका थिए भने त्यसपछि सर्दु, खर्दु र निशानेको पानी संकलन गर्न ट्यांकी पनि बनाएका छन् । त्यहाँबाट पाइपमार्फत स्वास्तिका चोकको ट्यांकीमा पानी जोडेर वितरण भइरहेको छ ।

धरानको भालुखोलाको पानी ल्याएर वडा १५ लाई वितरण गरिएको थियो भने अहिले १ लाख लिटर क्षमताको पानीट्यांकी सेउती बगरमा निर्माण भइरहेको छ ।