विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले निर्वाचनबाट प्राप्त जनादेशका आधारमा प्रदेशको नाम फेरिनसक्ने बताएका छन् ।
बुधबार ११३औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राजभण्डारीले कोशी प्रदेशको नाम फेरिनसक्ने बताएका हुन् ।
नामकरणको विषयमा चित्त दुखाइ भए माफ गर्दै अब आउने निर्वाचनमा कस्तो खालको नाम चाहिएको हो, त्यो खालको मान्छेलाई जिताएर मतदाताले पठाउनुपर्ने मन्त्री राजभण्डारीले बताए । ‘कोशी नाम पाइरहँदा सबैको चित्त नबुझेको होला, सबैको भावना समेटिएन होला’ उनले भने ‘नामकरणबाट चित्त दुःखाइ भए माफ गर्नुस् र अब आउने निर्वाचनमा कुन नाम चाहिने त्यो खालको मान्छेलाई जिताएर पठाउनुस् । फेरि पनि नाम फेर्न सकिन्छ ।’
अहिलेलाई पाँच वर्षको लागि कोशी प्रदेश नामकरण भएको बताउँदै मन्त्री राजभण्डारीले त्यसलाई स्वीकार गर्नुको विकल्प नभएको बताए । नाम राख्न दुईतिहाई मत चाहिने भएकोले कोशीमा सहमति जुटेको बताउँदै उनले फेरि पनि दुईतिहाई मतले परिवर्तन गर्नसक्ने बताए ।
अर्को प्रसंगमा मन्त्री राजभण्डारीले महिलाहरुले आफ्नो अधिकारको सुनिश्चिता आफैँले गर्नुपर्नेमा जोड दिए । कानुन संशोधन गरेर स्थानीय तहसँगै संघीय संसद् र प्रदेश संसदमा आफ्नो अधिकार सुनिश्चित गर्नसके मात्रै महिलाहरुको ३३ प्रतिशत अधिकार सुनिश्चित हुने उनको भनाइ छ ।
कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले नारी दिवस मनाइरहँदा प्रविधिमैत्री कार्यक्रमहरु तल्लो तहको महिलाहरुको पहँचमा पु¥याउन जरुरी रहेको बताइन् । ‘नारी दिवस मनाइरहँदा अहिले पनि तल्लो तहको महिलाहरुको पहुँचमा प्रविधिको ज्ञान पुग्न सकेको छैन,’ उनले भनिन्, ‘यस्तो खाल्को कर्यक्रम तल्लो तहको महिलाहरुको पहुँचमा पु¥याउन जरुरी छ ।’
‘लैंगिक समानाताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ को नारासहित यस वर्ष ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । सो अवसरमा प्रभातफेरीसँगै विविध सांस्कृतिक कार्यक्रम गरिएको कार्यक्रम संयोजक दुर्गा बरालले जानकारी दिइन् ।

