काठमाडौं । राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको तयारी पूरा भएको छ।
संघीय संसद् र प्रदेश सभा सदस्य मतदाता रहने छन । संघीय संसद् र प्रदेश सभा सदस्यहरुका लागि बेग्लाबेग्लै दुई वटा मतदान केन्द्र तयार पारिएको छ। मतदान अधिकृत सहितको टोली खटिएर मतदान केन्द्र निर्माण गरिसकेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए। मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने छ ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेश सभा सदस्य ५५० मतदाता छन्। मतदान गर्न महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ ।
निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार हुने छ ।
राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य शुरू गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भोलीनै साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको निर्वाचन अधकिृत कार्यालयले जनाएको छ ।

