विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीद्वारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ ।
विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव विकास र सचिवमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो ।
अखिल क्रान्तिकारीले बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुङ्गो लगाउने अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको इन्चार्ज अभिमन्यु यादवले बताए । महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी दिएका यादव महेन्द्र मोरङ क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रहेका छन् । सचिवको उम्मेदवार दिएकी लम्साल पत्रकारितामा स्नातक गरेर हाल जनप्रशासनमा स्नातोकोत्तर गरिरहेकी छन् । उनी अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीको अध्यक्ष पनि हुन् ।
उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै सचिवकी उम्मेदवार लम्सालले विद्यार्थीहरूको हकहितको लागि पर्ने बताइन् । महेन्द्र मोरङ क्याम्पसको शैक्षिक गुणस्तर सुधारदेखि लिएर विद्यार्थीहरूलाई सहज रूपमा अध्ययन हुने व्यवस्था लागू गर्न लागि पर्ने उनले बताइन् । ‘अहिले क्याम्पसको छात्र र छात्रावास आवास बन्द भएको वर्षौँ भइसकेको,’ उनले भनिन्, ‘टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूको लागि अवासको व्यवस्था गरिएको थियो । अहिले यो आवास बन्द छ । हामी तत्काल सञ्चालनमा ल्याउन प्रत्ययन गर्नेछौँ ।’उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा युवा नेता देवा यादवले आफ्नो सङ्गठन स्थापित गर्न अखिल क्रान्तिकारीले एकल रूपमा उम्मेदवारी दिएर चुनावमा लड्ने बताए ।
कार्यक्रममा अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरूको बिचमा उम्मेदवारी घोषणा गरिएको हो । महेन्द्र मोरङ क्याम्पसमा स्ववियुमा २१ सदस्यीय कार्यसमितिको लागि हुन लागेको निर्वाचनमा ५ हजार ९४२ जना मतदाता रहेका छन् । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको कार्य तालिका अनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । कार्यतालिका अनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्य तालिका अनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्य तालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।
स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्म मिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।

