विराटनगर । ११३औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विराटनरमा पनि विभिन्न कार्यक्रम गरिएको छ ।

‘लैङ्गिक समानाताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ को नारासहित कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा आज कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले महिलाहरू जागरुकताका साथ यस्ता कार्यक्रममा सहभागी हुनुपर्नेमा जोड दिए ।

महिला अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले हेपिन्छ भन्ने कुरालाई अन्त्य गरेर हिँड्न सके मात्रै महिला दिवस मनाएको सार्थकता हुने बताए । कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले महिलाहरु माझ अहिलेको प्रविधिलाई बुझाउन सक्नु पर्ने बताइन् ।

यस्तै सोही मन्त्रालयले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको वक्तृत्वकलामा छनोट भएको विद्यार्थीहरुलाई पुरस्कार वितरणसमेत गरिएको थियो । कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरौला कार्की, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई लगायतले आफ्नो धारणा राखेका थिए ।