विराटनगर । राष्ट्रपतिको निर्वाचनभन्दा चार दिन अगाडि देखी नै प्रदेश १ का मन्त्रालयहरू मन्त्रीविहीन बनेका छन् । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित सबै मन्त्रीहरू राष्ट्रपतिको निर्वाचनको लागि भन्दै काठमाडौं पुगेका हुन् ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ । तर, सबै मन्त्रीहरु जहाजबाटै काठमाडौं जाने भएकोले सोहि दिन पनि उनीहरु काठमाडौं जान सक्छन् । तर, मुख्यमन्त्री कार्कीसहित सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, खानेपानी सिचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्वो पार्टीको प्रशिक्षणका लागि काठमाडौं पुगिसकेका छन् ।

नेकपा एमालेका उम्मेदवार सुभाष नेम्मबाङलाई जिताउन एमालेले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा राष्ट्रियसभा सदस्यहरूको भेला सोमबार काठमाडौंमा राखेकोले उनीहरु काठमाडौं पुगेका हुन् । यस्तै पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्य पनि ससुरालीमा होली मनाउन काठमाडौं आइतनबार नै पुगेका थिए । उनी प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाइँ हुन् ।

प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौला पनि काठमाडौंमै छन् । राप्रपाले राष्ट्रपति निर्वाचनमा मत दिने कि नदिने भन्ने विवाद पार्टीभित्र रहेको भएपनि सिटौला भने काठमाडौं पुगिसकेका छन् ।

प्रदेश सरकारका भौतिक पूर्वधारमन्त्री दुर्गाप्रसाद चापागाईँ भने आगलागी पीडितलाई राहत वितरण गर्न तेह्रथुम गएका छन् । केही दिन अघि तेह्रथुमको आठराई ६ चुहानडाँडा स्थित हातिखर्कमा आगलागी भएको थियो । आगलागी भएको मन्त्री चापागाईँको निर्वाचन क्षेत्र पनि हो । प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला लिम्बु पनि गृहजिल्ला ताप्लेजुङमा छन् ।

राष्ट्रपति चुनाबमा रामचन्द्र पौडेललाई समर्थन गरेको गठबन्धनका सांसदहरूलाई यसअघि नै प्रदेशमै अभिमुखिकरण गराईसकेको छ । राष्ट्रपति पदको लागि पूर्वसभामुखहरु रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । पौडेललाई नेपाली काँग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ । नेम्वाङलाई भने अहिलेसम्म एमालेबाहेक अन्य दलको समर्थन देखिएको छैन ।

मन्त्रालयकै कामसमेत काठमाडौँमा भएकाले दुई दिन अगाडी काठमाडौँ आएको मन्त्री कृषिमन्त्री सिटौलाले बताए । उनले प्रदेशमा हुने काम मन्त्री अभावकै कारण नरोकिने बताए । दैविक प्रकोप जस्ता कुनै विपद् आइलागे पनि त्यसमा पनि सहज हुने उनको भनाइ छ ।सेरेमोनियल पदका लागि हुने चुनाव प्रदेश सरकारका मन्त्रीहरू मन्त्रालय नै सुन्य बनाएर हिँड्नु लज्जास्पद भएको निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईको भनाइ छ । संघीयताका कुरा गर्ने अनि भेला तथा छलफल पनि संघीय राजधानीमै गरिनुले पनि संघीयतालाई दलहरूले कसरी बुझिरहेका छन् भन्ने पुष्टि गर्ने उनको भनाइ छ ।

मन्त्रीहरुमात्र हैन अधिकांश प्रदेशसभाको सदस्यहरु पनि काठमाडौं पुगिसकेका छन् । नेकपा एमालेका प्रदेशसभा सदस्य सोमबारकै कार्यक्रममा सहभागी हुन पुगेका छन् भने अन्य दलका प्रदेशसभा सदस्यहरु पनि काठमाडौं पुग्ने क्रममा छन् । कोशी प्रदेशमा नेकपा एमालेका ४०, नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् ।