विराटनगर । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट दर्ता गर्न आदेश दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेश कमिटीले आपत्ति जनाएको छ ।

शुक्रवार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो ।

कोशी प्रदेश कमिटीका अध्यक्ष मिक्सो र इन्चार्ज पार्थद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको ‘युद्ध र आन्दोलनका ज्वार घट्नुसँगै विभिन्न आवरणमा लुकेका प्रतिक्रिर्यावादीहरु आफ्नो सक्कली रूपमा प्रकट हुन थालेका छन् । राज्य र समाजका विभिन्न क्षेत्रमा लुकी बाचेका विभिन्न जनबैरागीहरुले यताका केही महिनाहरूमा उपद्रवी हर्कत थालेका छन् । महान् जनयुद्धका सर्वोच्च कमान्डर तथा जनआन्दोलन सँग जुद्धको ऊर्जालाई समायोजित गर्ने मुख्य कालिगड हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्ड जनवैरीहरूको पहिलो निसानामा हुनुहुन्छ ’
लामो समय देखी तानाबाना बुनेर षडयन्त्र बुनेको समेत आरोप लगाइएको छ ।

‘राजतन्त्रको अँध्यारो सुरुङबाट जनतन्त्रको नयाँ युगको बिहानीमा आइपुगेको नेपाललाई पुन अध्यारोपतर्फ धकेल्ने प्रतिक्रिर्यावादीका कुचेष्टाहरूबाट सजग भएर गणतन्त्र संघियता धर्मनिरपेक्षता समावेशी प्रजातन्त्रको रक्षा र विकासमा कटिबद्ध रहन सम्पूर्ण जनसमुदायसँग हार्दिक अनुरोध गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।