धरान । सुनसरीको धरानमा पदयात्रा पर्यटन प्रवद्र्धनका लागि सहकारी संस्थाहरूको भूमिका निर्वाह गर्न सोमबार बिहान सहकारीका ५० जना अगुवाहरू धरान–धनकुटा पुरानो पैदल बाटो भेडेटार हुँदै नाम्जेसम्म हिँडेका छन् ।
भानुचौकमा आयोजित औपचारिक कार्यक्रममा उनीहरूको पैदल यात्रा दुई दिने भएको बताइएको छ ।भानुचौकबाट हिँडेका पैदल यात्रीहरू फुस्रे हुँदै बिपी पार्क, साँगुरी डाँडा, भेडेटार हुँदै धनकुटा जिल्लाको नाम्जे बजारसम्म पुग्नेछन् । सुनसरी जिल्ला सहकारी संघका पूर्वउपाध्यक्ष, धरान–१५ का वडाध्यक्ष नरेश इङ्वारमले सहकारी नीति र विधिमा अघि बढ्दै सामाजिक क्षेत्रमा योगदान पु¥याउन पदयात्रा पर्यटन प्रवद्र्धनका लागि भएको बताए ।
जिल्ला सहकारीका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले २०७३ सालमा नै सहकारीले पर्यटन प्रवद्र्धनका लागि पदयात्रा सुरुवात गरेको स्मरण गराए । धरानवासीले सहकारीलाई हेर्ने दृष्टि केही समय यता नकारात्मक बनेको अवस्थामा पदयात्राले सकारात्मक सन्देश दिने विश्वास उनको छ ।
पदयात्राको सुरुआतमा उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ, जिल्ला सहकारी उपाध्यक्ष काजी गिरि, कोषाध्यक्ष लक्ष्मी प्रधान, उद्योग वाणिज्यका वरिष्ठ उपाध्यक्ष गोपाल श्रेष्ठ, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सदस्यहरू मानबहादुर मगर, अफिसर सुयल, उद्धव लिम्बू, उमेश पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक उमेश पौडेलका अनुसार धरामा रहेका सहकारीकर्मीहरुको एकता र सहकार्यमा पदयात्राको सुरु भएको हो ।

