पाँचथर । फागु पुर्णिमा अर्थात होली पर्व पहाडी जिल्लामा सोमबार भव्य रुपमा मनाइएको छ । पहाडमा फाल्गुण शुक्ल पूर्णिमाकै दिन होली खेलिन्छ ।
यो दिन सरकारले पहाडी क्षेत्रका लागि सार्वजनिक विदा दिएकाले उपलब्ध भएसम्म हिमाल, पहाड र तराईका नागरिक एकै ठाउँ भेला भएर खेल्नको मज्जा बेग्लै हुने स्थानीयको भनाइ छ ।
पाँचथर सदरमुकाम फिदिममा फागुपूर्णिमाका दिन होली हंगामा र फागु विशेष कार्यक्रम आयोजना हुन्छ । सबै जाती र समुदायका बालकदेखि बृद्वसम्म एकै थलोमा भेलाभएर रंग दल्दै नाचगान गर्छन् । २०७५ सम्म सामूहिक रुपमा मनाइँदै आएको होली विशेष कार्यक्रम २०७६ र २०७७ मा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरिएको थियो ।
२०७८ मा स्थानीय युवाको सक्रियतामा सदरमुकाम फिदिममा भव्यता पुर्वक यो उत्सब मनाइयो । फिदिमस्थित किरण गिफ्ट सेन्टरका प्रोपाइटर आशिष खानले होली सामग्रीको माग बढेको बताए । यो वर्ष विभिन्न समूहले होली उत्सवको आयोजना गरेका थिए ।
पाँचथर उद्योग वाणिज्य संघले जिल्लाका कार्यालय प्रमुख, सञ्चारकर्मी, उद्योगी र व्यवसायीबीच होली मिलन कार्यक्रम राखेको थियो ।

