विराटनगर । दुई महिनाभित्र नगर बस सञ्चालन गर्ने तयारीमा रहेको सूचना संप्रेषण गरेको विराटनगर महानगरपालिकासँग बस चलाउने रुट पहिचान गर्ने बाहेक बाँकी तयारी नभएको पाइएको छ ।

महानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा नगर क्षेत्रमा यात्रुवाहक बस चलाउने सोच बनाएर सम्भावित रुटको अध्ययन भने सम्पन्न गरेको छ । तर, महानगरका प्रमुख नागेश कोइरालाको सचिवालयले भनेझैं दुई महिनाभित्र नगर बस चलाउने आधार तयार भइसकेको छैन ।
विराटनगर महानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा नगर बस चलाउन लगानी प्रबद्र्धन बोर्डलाई पत्र पठाएर लगानीकर्ता खोज्न सहजीकरण गरिदिन आग्रह गरेको छ । लगानी प्रबद्र्धन बोर्डले लगानीकर्ता खोजी गर्ने प्रक्रिया अगाडि बढाएको छ । तर, अहिलेसम्म कुनै पनि लगानीकर्ता विराटनगर महानगरपालिका क्षेत्रभित्र नगर बस सञ्चालन गर्नका लागि तयार भइसकेका छैनन् ।

विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन आफैंले लगानी गर्ने वा निजी क्षेत्रसँग साझेदारी गरेर केही संख्यामा बस किन्ने सम्भावना नरहेको महानगरका एकजना अधिकारीले बताएका छन् । उनी भन्छन् ‘महानगरले बस खरिद गर्ने वा त्यसमा लाग्ने जनशक्ति (चालक, सहचालक आदि) उपलब्ध गराउने कुनै सम्भावना छैन, हामीसँग त्यसका लागि बजेट पनि छैन ।’

नगर बस सञ्चालन गर्दा महानगरपालिकाले लगानीकर्तालाई आवश्यक पर्ने रुट उपलब्ध गराउने, ती रुटहरुको भाडादर निर्धारण गरिदिने र सहज सञ्चालनका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा सहयोग गरिदिने मात्र हो । महानगरपालिकाका प्रशासकीय अधिकृत अर्जुन थपलियाले नगर बसमा महानगरको लगानीमा साझेदारी नरहने बताए । उनले सवारी सञ्चालन रुट, भाडादर निर्धारण र सहजीकरणमा मात्र महानगरको साझेदारी हुने बताए ।

केही दिन अगाडि महानगरका उपप्रमुख शिल्पा निराला कार्कीको भनाइ उद्धृत गर्दै महानर प्रमुख नागेश कोइरालाको सचिवालयले महानगरले बस खरिद गर्ने र चालक तथा सहचालक नियुक्ति गर्ने प्रक्रिया सुरु भइसकेको सूचना सम्प्रेषण गरेको थियो ।महानगरपालिकाले अहिलेसम्म नगर बस सञ्चालन गर्नका लागि चार वटा रुट पहिचान गर्ने काम सम्पन्न गरेको छ । महानगरले बुढीगंगाको गंगाचोकबाट जोगवनी सीमा क्षेत्रसम्म सञ्चालन हुने एउटा रुट तयार गरेको छ । यस्तै विराटनगर ४ इक्राहीबाट नोवेल अस्पताल–विराटनगर विमानस्थल –कञ्चनबारी –पोखरिया –तीनपैनी –कोसी अस्पताल –देवकोटा चोक –जतुवा हुँदै बुधनगरको प्रहरी चौकीसम्म जाने दोश्रो रुट तय गरेको छ । यसैगरी तेस्रोमा दक्षिण–पश्चिम विराटनगरको दशगजा क्षेत्रबाट दरैया –बखरी –पञ्चमुखी चोक –पिचरा –बसपार्क –शनिमन्दिर –जलजला मोड –कोसी अस्पताल –तीनपैनी –पुष्पलाल चोक हुँदै मिलन चोक जाने रुट तय गरेको छ । महानगरपालिकाले चौथो रुटको रुपमा हाटखोलाबाट देवकोटा चोक–महावीर रोड –घाँस चोक –केशलिया नहर हुँदै ब्रह्मपुरासम्म नगर बस सञ्चालन गर्ने रुट तयार पारेको छ ।

विराटनगर महानगरपालिकाका नगर रक्षक इन्स्पेक्टर राजन पौडेल नेतृत्वको समितिले नगर बस सञ्चालन गर्न सम्भव रहेको रुटको अध्ययन गरेर महानगरलाई प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनका आधारमा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी कार्याक्रम अन्तरगत नगर बस सञ्चालन गर्न सहिने भन्दै लगानी बोर्डलाई सहजीकरणका लागि पत्र पठाउने बाहेक थप प्रक्रिया अगाडि बढेको छैन ।महानगरपालिकाले रुट दिने भएपछि केही निजी कम्पनीहरुले नगर बस सञ्चालन गर्न चासो देखाएका छन् । झण्डै एक दर्जन जति कम्पनीहरुले रुटको बारेमा चासो राख्दै महानगरसँग सम्पर्क गरिरहेका छन् । तीमध्ये धेरैजसो कम्पनीहरुले आवश्यक पर्ने बस उपलब्ध गराउने भन्दै महानगरमा पुगेका छन् ।

केही दिन अगाडि निजी क्षेत्रका केही इच्छुक कम्पनीहरुलाई महानगरपालिकाले रुट भिजिट पनि गराएको थियो । नगर रक्षक पौडेलले भने ‘हामीले तयार गरेको रुटमा कस्तो बस चलाउन सकिन्छ र जनघनत्वको अवस्था के छ भन्ने अध्ययन गर्न केही दिन अगाडि परीक्षण गरिएको छ ।’ उनले चार वटामध्ये राजमार्गमा ४५ सिट क्षमताको बस र भित्री रुटमा ४२ सिट क्षमताको बस चलाएर परीक्षण गरिएको जानकारी दिए । रुटको अध्ययन र त्यस रुटमा परीक्षण यात्रा गर्ने बाहेक यस विषयमा आफूलाई केही जानकारी नभएको उनले बताए ।

रुट परीक्षण गरेका कम्पनीहरु बस चलाउने निश्कर्षमा भने पुगिसकेका छैनन् । उनीहरुले त्यस क्षेत्रको जनघनत्व, रुटमा यात्रा गर्ने अवस्था, सवारी साधन प्रयोगको अवस्था र उनीहरुको बानी आदि विषयमा अध्ययन गरिरहेको महानगरपालिकाले जनाएको छ ।

विराटनगर महानगरपालिकाले २०५६/५७ सालमा केही रुटबाट नगर बस सञ्चालनको अभ्यास गरेको थियो । त्यतिबेला महानगरको इन्धन सहयोगमा केही समय नगर बस सञ्चालन गरेको निजी क्षेत्रले बसमा यात्रा गर्ने यात्रु अभाव झेल्नु परेपछि सेवा बन्द गरेको थियो । तराईको मैदानी क्षेत्र भएको र यात्रामा साइकल, मोटरसाइकलको पर्याप्त प्रयोग हुने गरेका कारण निजी कम्पनीहरुले यात्रुको बारेमा विस्तृत अध्ययन पछि मात्र निर्णय लिने सम्भावना छ । निजी कम्पनीहरुले लगानी सुरक्षाप्रति बढी सरोकार राख्ने र नाफामुखी योजना बनाउने भएकोले नगर बस सञ्चालनको अन्तिम निश्कर्ष आउन अझै केही समय लाग्ने जानकारहरु बताउँछन् ।