विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ मोरङको पथरीशनिश्चरे नगरपालिका– ९ शनिश्चरे बजारस्थित प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २७ वर्षीय आशिष लिम्बूलाई ब्राउनसुगरसहित पक्राउ गरेको थियो । शंकास्पद अवस्थामा फेला पारी उनको घरमा चेकजाँच गर्दा घरको कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा १० मिलिग्राम ब्राउनसुगर बरामद गरेपछि उनी पक्राउ परेका हुन् ।

उता झापाको अर्जुनधारा नगरपालिका– ११ नयाँ बसपार्कस्थित अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले नजिकैको एक लजमा बस्दै आएका शिवसताक्षी–९ का २१ वर्षीय प्रेम सागर सावा, मेचिनगर– १२ का २० वर्षीय मनिस बराल र मोरङको मिक्लाजुङ– ४ का १९ वर्षीया तिलु राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । उनीहरुलाई प्रहरीले हिरासतमा राखेको छ ।

यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल स्थितबाट भारतबाट नेपालतर्फ आउँदै गरेको पैदलयात्री विर्तामोड–१ का २१ वर्षीय विशाल धिमालको साथबाट १ ग्राम लागुऔषध ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।