विराटनगर । मोरङको खदम क्याम्पस केराबारीमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयमा भइरहेको छलफलमा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आक्रमणको प्रयास गरेको छ ।
क्याम्पस प्रमुख टेक बहादुर थपलिया र पार्टी प्रतिनिधिहरूको उपस्थितिमा छलफल हुनै लाग्दा एमालेका प्रदेश सांसद खड्ग बस्नेतका स्वकीय सचिव संगम कन्दङ्वा लगायतको टिमले आक्रमणको प्रयास गरेको हो । कन्दङ्बा अनेरास्ववियुका नेता पनि हुन् ।
उनीहरूले कार्यक्रम स्थलमा रहेको टेबल तोडफोडको प्रयास गर्नुको साथै केही बोतल समेत फुटाएका थिए । छलफलमा अखिलक्रान्तिकारीले न्यून शुल्कमा विद्यार्थी भर्ना गरेको र क्याम्पस नै अखिल क्रान्तिकारी मय बनाउने प्रयास भएको भन्दै अनेरास्ववियुले आक्रमण गरेको हो ।
हुलदङ्गा गर्नका लागि बाहिरबाट समेत केही मानिस ल्याएको स्थानीयले बताएका छन् । ‘क्याम्पसमा सर्वदलीय बैठक बसिरहँदा टेबलमा खुँडा प्रहार गरी बोतल प्रहार गरेका थिए,’ छलफलमा सहभागी एक स्थानीयले भने । अखिल क्रान्तिकारी केराबारीले भने सरकारी सेवा सुविधा लिएर गुण्डागर्दीमा उत्रिएका संगम कन्दङ्वालाई कारबाहीको माग गरेको छ ।

