विराटनगर । विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ ।
विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरले सडक मापदण्डमा परेका संरचनाहरु डोजर लगाएर हटाएको हो ।

सडक मापदण्डमा परेका संरचना हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि महानगरले डोजर लगाउनु परेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । संरचना नहटाउँदा महानगरका विभिन्न साँघुरा सडकहरुको विस्तार अलपत्र परेको थियो ।केही दिनअघि बसपार्क दक्षिण–पूर्वमा अवस्थित सडक मापदण्डमा परेको संरचना हटाएको महानगरले वडा नम्बर १ स्थित वारुणयन्त्र उत्तरको सडकको संरचना हटाएको छ । स्थानीय विनोद रिजालको स्वामित्वमा रहेको गोदाम घर, पर्खाल तथा वडा नम्बर १ को कार्यालयको पर्खाल, खानेपानी कार्यालयलगायतका संरचना हटाएको छ ।

नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको टोलीले वडा सदस्य मोहनकर्ण कार्कीको उपस्थितिमा घर, पर्खाल, गोदामलगायतका संरचनामा डोजर लगाएको हो । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा कसैसित पनि सम्झौता नहुने महानगरका मेयर नागेश कोइरालाले बताउँदै आएका छन् ।

यस्तै महानगरको टोलीले हाटखोला चोकदेखि पुलसम्मको सडक मापदण्डमा परेका संरचनासहित आसपासका टहरासमेत हटाएको छ । महानगरको सौन्दर्यतामा ह्रास आउने गरी निर्माण गरिएका हटरा हटाउन पटक–पटक सूचना जारी गर्दा पनि नहटाएपछि महानगर आफैंले हटाउनु परेको सरसफाई शाखा प्रमुख पुनम दाहालले बताए ।