विराटनगर । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि दुवै उम्मेद्वार समर्थक दलहरुले प्रदेश १ लक्षित अभियान चलाएका छन् । प्रदेश १ मा रहेका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई दुवै पक्षले अभिमुखीकरण, पत्राचार तथा भेटघाट अभियान तीव्र पारेका हुन् ।
राष्ट्रपति निर्वाचनमा पूर्व सभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ उम्मेद्वार छन् । पौडेललाई उनकै दल नेपाली काँग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी गरी आठ दलको समर्थन छ । सुवास नेम्वाङलाई उनकै दल नेकपा एमालेले अघि सारेको छ । दुवै उम्मेद्वारहरुले आफूलाई मतदान गर्न आग्रह गर्दै सांसदहरुलाई पत्राचार गरेका छन् ।

यहीक्रममा आठ दलीय गठबन्धनले कोशी प्रदेशका प्रदेशसभाका सांसदहरुलाई एकै ठाउँ राखेर प्रशिक्षण दिएको छ । शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा नेताहरु ले प्रतिनिधिसभाको स्थायित्व र संविधान रक्षाका लागि राष्ट्रपतिको निर्वाचनमा आठ दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रदेश सांसदहरुसँग अनुरोध गरेका छन् ।

कोशी प्रदेशका प्रदेश सभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सेरेमोनियल पदका लागि उपयुक्त उम्मेदवारलाई विजयी बनाउनु पर्ने बताए । ‘राष्ट्रपति पद सेरेमोनियल हो, सेरेमोनियल पदका लागि हुने चुनाव यति धेरै चर्चामा रहनुपर्ने विषय थिएन,’ महामन्त्री शर्माले भने ‘वहावाला राष्ट्रपतिको व्यवहारका कारण कारण यो चुनावले चर्चा पाएको हो ।’ उनले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमामा थुप्रै विवादित कार्यहरु भएको भन्दै विगतको कमजोरी दोहोरिन नदिनका लागि पनि मतदाताहरुले हेक्का राख्नु पर्ने बताए ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा भएका कमजोरीका कारण सेरेमोनियल राष्ट्रपति चुनावमा यसपटक धेरै सक्रियता देखाउनु परेको हो,’ महामन्त्री शर्माले भने ‘विगतमा राष्ट्रपति के कारणले विवादमा पर्नुभयो भनेर हेक्का राखेर नयाँ राष्ट्रपति निर्वाचित गर्नुपर्छ ।’
राष्ट्रपति निर्वाचनका लागि आठ राजनीतिक दलले सहमतिमा उम्मेदवार तय गरेको भन्दै उनले दलीय सहमतिका साथ उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुने दाबी गरे ।

सांसदहरुलाई पार्टीहरुले सहमतिका साथ अगाडि बढाएको उम्मेदवारको पक्षमा उभिन आग्रह गर्दै महामन्त्री शर्माले नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदबाटै संसद् विघटनको ढोक्सा थाप्नुभएका कारण पनि सबै गम्भीर बन्नु पर्ने अवस्था रहेको बताए । उनले गठबन्धन पूर्णसमय जाने र भएका सहमति कार्यान्वयन हुने भन्दै बिचमा नटुट्ने जिकिर गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संविधानको रक्षा र शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरुबीचकै सहकार्यले परिणाम दिनसक्ने बताए । बिचमा अन्य प्रयत्न भएपनि त्यसबाट निकास आउन नसक्ने देखिएकोले गठबन्धनलाई निरन्तरता दिएको महराको भनाइ थियो । संविधान, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको रक्षा गर्न राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई जिताउनु अनिवार्य रहेको उनले बताए ।

भेलामा नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य महेश रेग्मीले सबै सांसदहरुले संविधानको रक्षाका लागि र प्रतिनिधि सभालाई पूर्ण कार्यकाल सञ्चालन गर्न पनि पौडेललाई राष्ट्रपति बनाउनुको विकल्प नभएको बताए ।

कोशी प्रदेशका प्रदेशसभा सदस्यहरुको अभिमुखीकरणमा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसदको उपस्थिति थियो । प्रदेशसभाका सभामुख भने भेलामा सहभागी भएका थिएनन् ।
यसैगरी नेकपा एमालेले पनि आफ्ना उम्मेद्वार सुवास नेम्वाङलाई निर्वाचित गराउन भन्दै सांसदहरुलाई भेट्ने, पत्राचार गर्ने अभियान चलाएको छ । एमाले कोशी प्रदेशका सचिवसमेत रहेका प्रदेश सांसद चिन्तन पाठकका अनुसार एमालेले सांसदहरुका लागि काठमाडौंमै अभिमुखीकरण कार्यक्रम तय गरेको जानकारी दिए ।

‘भेट्ने, मत माग्ने काम प्रदेशमा चलिरहेको छ’, उनले भने ‘पत्राचार गर्ने काम पनि भएको छ । अब २२ गते काठमाडौंमा प्रशिक्षणको कार्यक्रम तय छ । त्यसैमा सहभागी हुन सांसदहरु काठमाडौं पुग्न थाल्नुभएको छ ।’