विराटनगर । जनता समाजवादी पार्टी नेपालले प्रदेश १ को नाम कोशी राखेकोप्रति आपत्ति जनाएको छ।

जसपाको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी विरोध गरेका छन ।

कहीँ कतैबाट नमागेको नाम जबरजस्ती थोपर्नु न्यायोचित नभएको उनीहरुको ठहर रहेको छ । प्रदेश अध्यक्ष दीपक याक्खाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशको नाम ऐतिहासिक थातथलो, भाषा, संस्कार संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किरात शेर्पालुङ प्रदेश हुनुपर्छ भन्ने मत जसपा, नेपालले राख्दै आएको छ।’

पहिचानमा आधारित राष्ट्रिय समितिले पनि विज्ञप्ति जारी गरी षड्यन्त्रपूर्वक कोशी प्रदेश नामकरण पछि त्यो क्षेत्रको राजनीतिक कोर्स परिवर्तन भएको र यस भूमिमा विद्रोहको दीर्घकालिन बिजारोपण गरेको उल्लेख छ।

साथै जसपा, नेपालको सांसदलाई मत दिन वञ्चित गरिएको भन्दै यस बारेमा सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत माग गरिएको छ।
जसपाकी सांसद समेत रहेकी स्वास्थ्यमन्त्री निर्मला लिम्बु मतदान गर्ने बेला संसद भवन बाट बाहीर निस्केकी थिइन ।