विराटनगर । विराटनगर महानगरपालिकाले नगर बस संचालनमा ल्याउने भएको छ । महानगरपालिका भित्र १९ वटा नगर बस संचालनमा ल्याउने भएको हो ।

कोशी प्रदेश र लगानी बोर्डको सहयोगमा महानगरपालिकाले नगर बस संचालन गर्ने अन्तिम तयारी गरेको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले बताइन् । नगर बस संचालनमा ल्याउन महानगरपालिकाको कार्यपालिका बैठकले निर्णय अनुसार संचालनमा ल्याउने तयारी गरिएको उनले बताइन् ।नगर बस संचालनको तयारी अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

तीन महिनाभित्रमा विराटनगर महानगरपालिका भित्र नगर बस संचालनमा आउने उनले बताइन् । ‘महानगरपालिकाको १९ वटै वडा भित्रको चोकहरूमा नगर बस संचालन गर्ने तयारी गरिएको छ,’ उनले भनिन्, ‘हरेक १०÷१० मिनेटको अन्तरमा नगर बस चोकहरूमा आउनेछ ।’ त्यसैको तयारी स्वरूप विराटनगर महानगरपालिकाले सम्भाव्यता रुटहरूको बिहीबार परीक्षण पनि गरेको छ । अहिले चार वटा रुटहरू तय गरिएको छ । आवश्यकता अनुसार यी रुटहरू थपघट हुने बताइएको छ । दुई वटा ठुलो यात्रुवाहक बस र एउटा स्कारपीयो लिएर महानगरपालिकाले विराटनगरको रुटमा परीक्षण गरेको छ । महानगरपालिकाकी उपप्रमुख कार्कीले यात्रुवाहक बसमा बसेर नगर बस संचालन गर्ने रुटहरूको निरीक्षण गरेकी थिइन् । ‘नगर बस संचालनको लागि रुटहरू पनि तयारी गरेका छौँ,’ उनले भनिन्, ‘सवारी चालक र सहचालकहरू नियुक्तिको प्रक्रिया अगाडी बढाएपछि भाडा दर पनि कायम गरिनेछ ।’

नगर बस संचालनमा ल्याएपछि सिटी सफारीको पनि व्यवस्थापन गरिने उनले बताइन् । नगर बस संचालन भएपछि विराटनगर महानगरपालिका भित्र संचालन गरिने सिटी सफारीलाई पनि दर्ताको प्रक्रियामा लैजाने भएको छ । अहिले विराटनगर महानगरपालिका भित्रका सवारी दर्ता भएका १ हजार १ सय वटा रहेका छन् । तर, यहाँ चार हजार भन्दा बढी सिटी सफारी संचालनमा रहेका छन् । अन्य सफारीलाई दर्ताको प्रक्रियामा लगेर व्यवस्थित रूपमा संचालनमा लैजाने संयन्त्रको विकास गरिँदै आएको महानगरपालिकाले जनाएको छ । नगर बसले विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिकलाई नेपाल सरकारले तोकेबमोजिम सहुलियत दिइने महानगरले जनाएको छ ।