विराटनगर । नेकपा एमालेले देशब्यापी रुपमा थालेको मिसन ग्रासरुट अभियानको क्रममा पार्टीका केन्द्रीय नेताहरुसहित प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरु जनताको घरदैलोमा पुग्न थालेका छन् ।

जिल्लास्तरीय विस्तारित बैठक सम्पन्न गरेर यतिबेला पालिका र वडास्तरका विस्तारित बैठक सम्पन्न हुने क्रममा रहेको पार्टीले जनाएको छ ।
कतिपय स्थानीय तहमा समाजमा उल्लेख्य योगदान पु¥याउनेहरुको पहिचान गर्ने, सामाजिक आवश्यकताहरुको पहिचान गर्ने र छलफलका क्रममा आउने समस्याहरुको समाधान खोज्ने क्रममा पार्टी कमिटीहरु सक्रिय रहेको प्रदेश कमिटिले जनाएको छ । मिसन ग्रासरुट अभियानमा विराटनगर महानगरपालिकामा खटिनुभएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले अभियान महानगरमा तीब्रतर रुपमा अघि बढिरहेको बताएका छन् ।

बुधबार विराटनगरका १, ४, ६ र ८ मा बिस्तारित बैठक बसेको थियो । वडा कमिटीहरुले समाजमा उल्लेख्य योगदान गर्ने, उद्योगी व्यवसायी, शिक्षण संस्था, धार्मिक संस्थाहरु, विभिन्न क्लबलगायतका समाजमा क्रियाशिल संघसंस्था र तीनमा उल्लेख्य योगदान गर्नेहरुको पहिचान गर्ने कार्य आरम्भ गरेको महानगरका उपसचिव जयप्रकाश महतोले जानकारी दिए ।

मोरङकै उत्तरी क्षेत्रमा खटिएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य देबेन्द्र दाहालले बेलबारी र केराबारीलगायतका पालिकामा अभियान अन्तर्गत विस्तारित बैठक सम्पन्न गरि प्रशिक्षण कार्यक्रमको तालिका बनाएको बताए । मोरङकै जहदा, धनपालथान र कटहरी गाउँपालिकामा पनि पालिकास्तरीय विस्तारित बैठक भइरहेको केन्द्रीय सदस्य जगदिश कुसियैतले जानकारी दिए ।

सोलुखुम्बु जिल्लामा पालिकास्तरका विस्तारित बैठकहरु सम्पन्न गरि वडा तहका बैठकहरु र वडा तहसम्मका जनसंगठनका कमिटीहरु निर्माण सम्पन्न भएको अभियान्ता केन्द्रिय सदस्य नरेन्द्र श्रेष्ठले जानकारी दिए । प्रदेश १ कै पूर्वी हिमाली जिल्ला ताप्लेजुङ्गमा पनि मिसन ग्रासरुट अभियान तीब्र रुपमा अघि बढेको छ ।

सुनसरीमा पनि मिसन ग्रासरुट अभियान आरम्भ भएको जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले जानकारि दिए । जिल्लास्तरीय विस्तारित बैठक सम्पन्न गरि पालिकास्तरको अभियान अघि बढेको उनले बताए ।