विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेशको नाम महत्वपूर्ण चिजको आधारमा राख्ने भए हावा राख्नुपर्ने बताएका छन् ।

कोशी नाममाथि संशोधन हाल्दै किराँत–लिम्बुवान–कोसी नाम राख्न प्रस्ताव गरेका सांसद राईले प्रदेशसभाको भर्खरै सुरु भएको दोस्रो बैठकमा सो कुरा राखेका हुन् ।

‘केही माननीयले कोशी महत्वपूर्ण नदि भएको र धेरै फाइदा दिएकोले कोशी राख्न प्रस्ताव गर्नुभयो’ उनले व्यंग्य गर्दै भने, ‘महत्वपूर्ण र फाइदा दिनेको आधारमा नाम राख्ने भए हावा प्रदेश राखौं, हावा हाम्रो लागि सबैभन्दा महत्वपूर्ण छ, त्यसबाट अक्सिजन नपाए हामी १ मिनेट बाँच्न सक्दैनौं ।’ राईले कोशीलाई पनि जोडेर पहिचान र सामथ्र्यसहित नामकरण गर्ने संशोधन आफूले दर्ता गरेको भन्दै त्यसलाई समर्थन गर्न आग्रह गरेका थिए ।

तर, प्रदेशसभाले राईको प्रस्ताव अस्वीकृत गरेको छ । उनको प्रस्ताव अस्वीकृत भएसँगै प्रदेशसभाले कोशी नामकरण गर्न मतविभाजनको तयारी सुरु गरेको छ । अब केहिबेरमै सांसदले मतदान गर्नेछन् ।