विराटनगर । प्रदेश १ प्रदेशसभामा नेकपा एमालेले प्रदेश १ को नाम कोशी प्रस्ताव गर्दा त्यसको पक्षमा उभिएको नेपाली कांग्रेसभित्र शेखर कोइराला पक्षका सांसदहरूले आफूलाई पहिचानको पक्षमा उभ्याएका छन् ।
कांग्रेसमा कोइराला पक्षका सांसदहरू विनोद राई, शमसेर राईले नाममाथिको छलफलमा भाग लिँदै पहिचानसहितको नाम राख्नुपर्ने बताएका हुन् ।
कांग्रेसका भोजपुरका सांसद विनोद राईले कोशीसँगै किरात जोडिनुपर्ने बताए । ‘नदीको नाममा नाम राख्दै गर्दा त्यो नदी जन्माउने भूगोल र त्यो भूगोलका नागरिकको मागलाई नजरअन्दाज गर्न मिल्दैन,’ उनले भने, ‘ बिपी कोइरालाको देश भनेको भूगोल होइन जनता हो भन्ने भनाइ स्मरण गर्दै जनताको आवाज सुन्नपर्छ ।’
कांग्रेसकै अर्का सांसद शमसेर राईले पनि पहिचानसहितको नाम राख्नुपर्ने मत राखे । उनले नामकरण गर्ने दिन प्रदेशसभा वरिपरि निषेधाज्ञा जारी गरिएकोप्रति पनि आपत्ती जनाए । ‘हामी यतिधेरै डरपोक प्रतिनिधि हौं, जसको कति किलोमिटर वरपर काँडेतार र निषेधाज्ञा जारी गरिएको छ, इलामका सांसद राईले भने, ‘आज दलले निर्णय गरेको कारण म पनि त्यही लाइनमा उभिनै पर्छ । तर, पहिचानको आवाज नाजायज छैन ।’
राईले पहिचानको पक्षमा उभिनुपर्ने भनेर पार्टी संसदीय दलको बैठकमा फरक मत राखेको पनि प्रदेशसभामा जानकारी गराए । कोशी नाम राख्दा किरात सभ्यता मासिन्न भन्दै एमाले सांसदले दिएको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै उनले प्रश्न गरे, ‘उसो भा किरात नाम राख्दा चै कोशी नदि सुक्छ त ?’
काँग्रेसकै प्रमुख सचेतकसमेत रहेका खोटाङका सांसद भूपेन्द्र राईले भने कोशी नै पहिचान भएको दावी गर्दै किरात र लिम्बूवानको कुरा गर्दा अन्य जातिहरु अन्यायमा पर्ने बताए ।

