विराटनगर । प्रदेश १ प्रदेशसभाको नाम कोशी राख्नुपर्छ भन्ने प्रस्ताव गरेका नेकपा एमालेका सांसद रामबहादुर मगरको भनाई रेकर्डबाट हटाउन सभामुख बाबुराम गौतमले निर्देशन दिएका छन् ।
कोशी नाममाथिको सांसदले छलफलमा भाग लिएपछि जवाफ दिने क्रममा सांसद मगरले सांसद जनतालाई ढाँटेर आएको बताएपछि त्यसमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले नियमापत्ती गर्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।
सांसद रानाले प्रदेशसभामा आएका सांसद सोझा नभएको बरु जनतालाई ढाँटछल गरेर र अरु के के गरेर चुनाब जितेर आएको बताएका थिए । केहि सांसदले कोशी नाम राख्ने प्रस्तावमा जनजाति सांसदलाई अघि सारेको विषयलाई ‘सोझालाई फसाएको’ टिप्पणी गरेपछि रानाले सांसदहरु सोझा नभएको जवाफ दिए । ‘यहाँ आएकाहरु कोहि पनि साह्रै सोझा जस्तो मलाई लागेको मलाई छैन’ उनले भने, ‘जनतालाई प्रसस्तै ढाँटछल गरेर र अरु केके गएर चुनाब जितेर आएकाहरु यहाँ छन् ।’ प्रदेशका सबैभन्दा चलाख सांसदहरु छन् र उनीहरुमध्येबाट प्रस्ताव आएको उनको भनाइ थियो ।
मगरको सो भनाईप्रति नियमापत्ती जनाउँदै सांसद राईले ‘चुनाबी दौरानमा हामी सबैले ढाँटेर र छलेर आएका हौं त’ भन्ने प्रश्न गरेका थिए । सांसदको अपमान गर्ने अमर्यादित भनाई रेकर्डबाट हटाउन उनले माग गरेका थिए ।
राईको माग अनुसार सभामुख बाबुराम गौतमले ती विषय रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । प्रदेशसभाको नाम कोशी राख्ने प्रस्तावमाथिको छलफल सकिएर अहिले संशोधन दर्ताको लागि २ घण्टा संसद बैठक स्थगित भएको छ ।

